मुकुन भुसाललाई सधैँ झड्का, खोई हिट सिनेमा ?

काठमाडौं । मुकुन भुसाल अहिलेका व्यस्त कलाकारमध्ये एक हुन् । त्यस्तै पर्‍यो भने सुटिङका लागि उनलाई समय निकाल्न पनि कठिन छ ।

पछिल्लो उदाहरण नै छ, उनले समय नमिलेकै कारण ‘झिंगे दाउ २’ छोडेर ‘रोल नं १’ मा काम गरेका थिए । समय नमिलेर उनले छोडेका थुप्रै चलचित्र छन् ।

तर, बक्सअफिसको तथ्यांक हेर्ने हो भने उनलाई लागातार झड्का लागिरहेको छ । १० दिनमा उनको चलचित्र ‘चमेलीको पोई’ले जम्मा ५ लाख रुपैयाँ कलेक्सन गरेको बक्सअफिस रिपोर्ट सोमबार मात्रै सार्वजनिक भएको छ ।

मुकुनको चलचित्र ‘जदौ’ले १३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।

उनको चलचित्र ‘गणपति’ होस् वा ‘उपहार’, ‘कर्मा’ र ‘लज्जावती’ बक्सअफिसमा पूर्णत असफल चलचित्र हुन् । ‘रोल नं १’ पनि बक्सअफिसमा सफल हुन नसकेको चलचित्र हो ।

‘एैंचोपैंचो’ पनि लगानी र बक्सअफिसको तुलना गर्दा सफल चलचित्र होइन ।

उनले काम गरेकामध्ये ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘झिँगे दाउ’ मात्रै बक्सअफिसमा सफल चलचित्र हुन् । ‘पूर्ण बहादुरको सारङ्गी’मा उनी मुख्य भूमिकामा थिएनन् । सहायक भूमिकामा थिए ।

‘झिँगे दाउ’ पनि उनले सोलो लिड रहेको सिनेमा होइन । समान हैसियतमा अन्य तीनजना कलाकार थिए ।

उनले डेब्यु गरेको चलचित्र ‘बुलबुल’ औसत सिनेमा थियो बक्सअफिसमा । तर, उनी पहिलो चलचित्र ‘बुलबुल’बाटै हिट भएका अभिनेता हुन् ।

पहिलो सिनेमाबाट हिट हुने अवसर जुटे पनि सोलो लिडमा उनलाई हिट सिनेमा दिन निकै सकस भइरहेको छ । यद्यपि, अभिनयका हिसाबले उनी सधैँ तारिफ बटुलिरहने अभिनेता हुन् । तर, सोलो हिट सिनेमाका लागि भने उनले लामै प्रतिक्षा गरिसकेका छन् ।