विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
काठमाडौं । एक्सनप्रधान चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक भएको छ ।
विराज भट्टको निर्देशन रहेको चलचित्रको मंगलबार सार्वजनिक ट्रेलरमा मुख्य आकर्षणका रूपमा विराज भट्ट र समीर भट्टलाई प्रस्तुत गरिएको छ ।
सार्वजनिक ट्रेलरमा द्वन्द्व, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ ।
ट्रेलरमा प्रस्तुत गरिएका दृश्यले ‘१२ गाउँ २’ एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको मिश्रणमा निर्माण भएको संकेत गर्छ ।
विशेषगरी विराज र समीरलाई आमनेसामने प्रस्तुत गरिएको दृश्यले चलचित्रको कथामा उनीहरूबीच कस्तो सम्बन्ध र द्वन्द्व रहनेछ भन्ने जिज्ञासा बढाएको छ ।
एक्सनप्रधान दृश्य, आक्रामक हाउभाउ र द्वन्द्वात्मक प्रस्तुतिले चलचित्रको मुख्य आकर्षण दुई पात्रबीचको संघर्ष हुन सक्ने संकेत गर्छ ।
चलचित्रमा अभिनेता अनुपविक्रम शाही खलपात्रका रूपमा प्रस्तुत भएका छन् । यद्यपि, विराज र समीरको टकरावसँगै खलपात्रको उपस्थिति चलचित्रको द्वन्द्वलाई कसरी अगाडि बढाउने आधार बन्नेछ भन्ने चासो दर्शकमाझ हुने देख्निछ ।
चलचित्रको कथासार निर्माण पक्षले पूर्ण रूपमा सार्वजनिक गरिसकेको छैन ।
‘१२ गाउँ २’ एक्सनसँगै यसका गीतले यसको कथामा प्रेम र सम्बन्धको पक्ष पनि रहने संकेत गरेका छन् ।
यसले एक्सनलाई प्रमुख प्रचार आकर्षण बनाइएको चलचित्रमा रोमान्स र भावनात्मक सम्बन्धलाई समेत स्थान दिइएको बुझ्न सकिन्छ ।
चलचित्रमा विराज भट्ट, समीर भट्ट र अनुपविक्रम शाहीसँगै प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ । कृशु शाही र वर्षा इटनी पनि चलचित्रमा देखिनेछन् ।
‘१२ गाउँ २’को निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको रहेको छ। चलचित्रको छायांकन महेश पौडेलले गरेका छन् । सम्पादन बन्दे प्रसादको रहेको चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत छ ।
रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् भने स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन छ ।
‘१२ गाउँ २’ दशैंको अवसर पारेर असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।


