‘आ बाट आमा २’को ट्रेलरलाई दर्शकको साथ, ट्रेन्डिङ र भ्युजले निर्माण टिम उत्साहित

काठमाडौं । चलचित्र ‘आ बाट आमा २’को ट्रेलरले सार्वजनिक भएको एक दिनमै करिब ३० लाख भ्युज पाएको छ । रिलिजको केही समयमै ट्रेन्डिङमा उक्लिएको यो ट्रेलर अहिले दुई नम्बर ट्रेन्डिङमा छ ।

नेपालमा मात्रै होइन युट्युबको ग्लोबल ट्रेन्डिङमा पनि छिरिसकेको छ । युट्युबको ग्लोबल ट्रेन्डिङको ४९ स्थानमा छ ।

यो ट्रेन्डिङ र भ्युजलाई निर्माण टिमले दर्शकले सिनेमाप्रति देखाएको उत्साहसँग जोडेको छ ।

ट्रेलरमा ४१ हजारभन्दा बढी लाइक र ३ हजारभन्दा बढी कमेन्ट आएका छन् । कमेन्टमा अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

विशेषगरी पल शाह र मलिका महतको जोडी, भावनात्मक कथावस्तु तथा कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएको देखिन्छ ।

ट्रेलरले रिलिजको सुरुवाती घण्टामै पाएको यो प्रतिक्रियाले फिल्मप्रति दर्शकको चासो बढेको संकेत गरेको निर्देशक चन्द्र पन्तले बताएका छन् ।

ट्रेलरले पारिवारिक सम्बन्ध, आमाबुबाको त्याग र सन्तानप्रतिको मायालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा समेटिएका केही दृश्यले दर्शकको मन छुएको निर्देशक पन्तले बताएका छन् ।

पल र मलिकाको जोडीलाई पर्दामा पुनः हेर्न पाउँदा दर्शक उत्साहित देखिएका छन् । ट्रेलरमा आकाश श्रेष्ठको भूमिकालाई लिएर पनि दर्शकमाझ कौतूहल सिर्जना भएको छ । उनको चरित्र सकारात्मकभन्दा खलनायकको हुन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपि, ट्रेलरले उनको भूमिकाबारे स्पष्ट खुलासा गरेको छैन ।

फिल्मको कथाले आर्थिक अभाव र पारिवारिक जिम्मेवारीलाई पनि समेटेको संकेत ट्रेलरले गर्छ ।

चलचित्रमा चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन छ । फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् । संवाद रोशन भट्टले लेखेका हुन् । करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ रहेका छन् ।

नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ ।

यसअघि प्रदर्शनमा आएको ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो । पहिलो फिल्मको व्यावसायिक सफलतापछि यसको दोस्रो शृंखलाप्रति दर्शकको अपेक्षा पनि बढेको छ ।

‘आ बाट आमा २’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउनेछ ।