फ्राइडे रिलिजमा ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ हलमा कसले मार्ला बाजी ?

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ आजबाट रिलिज भएका हुन् ।

यी दुईवटै सिनेमाले पीजी सर्टिफिकेट पाएका छन् । ‘पीजी’ प्रमाणपत्र पाएसँगै १६ वर्षभन्दा कम उमेरका दर्शकले सिनेमा हेर्न अभिभावकको साथ लिनुपर्नेछ ।

‘आ बाट आमा २’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । ‘१२ गाउँ २’लाई विराज भट्टले निर्देशन गरेका छन् ।

चन्द्र पन्तको कथा तथा निर्देशनमा बनेको ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै आफ्ना गीत, टिजर र ट्रेलरमार्फत दर्शकमाझ राम्रो चर्चा बटुलिसकेको छ ।

चलचित्र ‘आ बाट आमा २’ले आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई पर्दामा उतारेको छ ।

पारिवारिक प्रेम, सम्बन्धको मिठास र आमा–सन्तानबीचको गहिरो भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाइएको यस फिल्ममा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन् । नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत र गम्भीर बिष्टको नृत्य निर्देशन रहेको फिल्मका प्रोडक्सन एक्जिक्युटिभ करण सिंह हुन् । साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ एक्सनप्रधान सिनेमा हो । एक्सनसँगै पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधलाई जोडेर निर्माण गरिएको फिल्ममा विराज भट्ट र समीर भट्ट मुख्य आकर्षणका रूपमा रहेका छन् । एक्सन दृश्य, पारिवारिक सम्बन्ध र प्रतिशोधको कथालाई यो सिनेमाले प्रस्तुत गरेको छ ।

बुबा–छोराको पर्दा उपस्थितिसमेत दर्शकका लागि चासोको विषय बनेको छ ।

फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ । यही चलचित्रबाट कृशु शाही (काफिया) र वर्षा इटानीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

फिल्मको निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको छ । महेश पौडेलले छायाङ्कन गरेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका छन् ।