गीतकार अविरल थापाको बालगीत ‘मोबाइल हेर्छु नि !’ सार्वजनिक

काठमाडौं । बालबालिकामा बढ्दो मोबाइल मोहलाई रमाइलो शैलीमा प्रस्तुत गर्दै गीतकार तथा चलचित्र निर्माता अविरल थापाले नयाँ बालगीत ‘मोबाइल हेर्छु नि !’ सार्वजनिक गरेका छन् ।

गीतमा बालबालिकाले मोबाइल माग्ने बानी र अभिभावकले उनीहरूलाई अन्य गतिविधिमा भुलाउने प्रयासलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ ।

गीतमा बाल गायिका आर्षभी आचार्य र गायक शान्तिम कोइरालाको स्वर छ । संगीत पनि कोइरालाकै रहेको गीतका शब्द थापाले लेखेका हुन् ।

निर्देशक बिकेनले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरेर गीतको भिडियो तयार पारेका छन् ।

भिडियोमा निर्माता थापाकी छोरी देवाश्रीको तस्बिरलाई एआईमार्फत कार्टुनमा रूपान्तरण गरिएको छ । एआई प्रविधिको प्रयोग गरी व्यावसायिक रूपमा तयार पारिएको यो नेपालकै पहिलो बालगीतको भिडियो थएको गीतकार थापाको दाबी छ ।

गीतकार थापाले यसअघि चलचित्र ‘साँघुरो’का लागि पनि गीत लेखेका थिए । उनले यसअघि पनि विभिन्न विधाका गीत लेखिसकेका छन् ।

नयाँ बालगीतमा छोरीले बारम्बार मोबाइल माग्दा बाबाले उनलाई अन्य गतिविधिमा व्यस्त गराउने प्रयास गरेको देखाइएको छ ।

बाबाले छोरीलाई मोबाइलको सट्टा साथीहरूसँग खेल्न जान सुझाउँछन् । बालबालिकामा बढ्दो मोबाइल प्रयोगको प्रवृत्तिलाई गीतले सरल र हास्यपूर्ण शैलीमा प्रस्तुत गरेको छ ।

मनोरञ्जनसँगै बालबालिकालाई नाचगानमा सहभागी गराउन सक्ने गीतको भिडियो आकर्षक बनाउने प्रयास गरिएको छ ।