विराज भट्ट भन्छन्– निर्माता आफैँले चलचित्रको टिकट काट्नु चलचित्रका लागि क्यान्सर हो

काठमाडौं । कलाकार विराज भट्टले हलमा निर्माताले आफ्नै चलचित्रको टिकट आफैँले काट्ने संस्कार गलत भएको बताएका छन् ।

टिकट काटेर सिनेमा चलेको जस्तो देखाउनुभन्दा पनि राम्रो सिनेमा बने आफैँ चल्ने र दर्शकले नै टिकट काटेर हेर्ने उनको भनाइ छ ।

“निर्माताले टिकट काट्नु भनेको गलत हो । आफैँ टिकट नकाटौँ । यो सिनेमा सिनेमाका लागि क्यान्सर हो । यसलाई रोकौँ । बडावा दिनु हुँदैन,” निर्देशक समेत रहेका विराज भन्छन्, “राम्रो सिनेमा दियौँ, दर्शक आफैँ आउनुहुन्छ । टिकट किन्नु राम्रो होइन । यो कसैको हितमा छैन ।”

पछिला केही वर्षयता आफ्नो सिनेमाको टिकट निर्माताले आफैँ किनिरहेको भन्ने कुरा सार्वजनिक भइहेका बेला विराजले यसको विरोध गरेका हुन् ।

यो संसारमै नरहेको चलन नेपालमा रहेको भन्दै यो लामो समय नटिक्ने उनको भनाइ छ । “यो राम्रो होइन । यो लामो समय जाँदैन । यो आफैँ अन्त्य हुन्छ,” विराज भन्छन्, “निर्माताले टिकट किन्ने होइन, दर्शकलाई राम्रो सिनेमा दिने हो ।”

विराज भट्टको निर्देशन र अभिनय रहेको चलचित्र ‘१२ गाउँ २’ शुक्रबारबाट रिलिज भएको छ । एक्सनप्रधान दृश्यसँगै पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधलाई जोडेर निर्माण गरिएको फिल्ममा विराज भट्ट र समीर भट्ट मुख्य आकर्षणका रूपमा रहेका छन् ।

बुबा–छोराको पर्दा उपस्थितिसमेत दर्शकका लागि चासोको विषय बनेको छ ।

फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको छ । महेश पौडेलले छायांकन गरेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका छन् । युग भुसाल र डीपी खनालको संगीत रहेको फिल्ममा रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् । त्यस्तै, स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।