चलचित्र ‘कबड्डी ५’बारे के भन्छन् निर्देशक रामबाबु गुरुङ ?
काठमाडौं । ‘कबड्डी’ को चौथो शृङ्खलालाई ‘द फाइनल म्याच’ नाम दिइएपछि काजीको कथा सकिएको धेरैले ठानेका थिए । तर, प्रेम पाएपछि काजीको जीवन कसरी अघि बढ्छ भन्ने कथा बाँकी नै थियो ।
त्यही कथालाई निरन्तरता दिँदै निर्देशक रामबाबु गुरुङले ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ निर्माण गरेका छन् । यसपटक काजीको प्रेमकथाभन्दा पनि उसको व्यावहारिक जीवन, बदलिँदो मनोदशा र समयसँगै फेरिएको परिवेशमा कथा केन्द्रित रहेको गुरुङ बताउँछन् । यो कथामा बनेको चलचित्र भोलिबाट रिलिज हुँदैछ ।
निर्देशक गुरुङका अनुसार चौथो शृङ्खलामा काजीको नयाँ प्रेम जीवनको एउटा अध्याय टुंग्याउने उद्देश्यले ‘द फाइनल म्याच’ को अवधारणा अघि सारिएको थियो । तर, सिनेमा प्रदर्शनपछि दर्शकबाट पाएको प्रतिक्रियाले पात्रहरूको कथा थप अघि बढाउने हौसला मिल्यो ।
‘चौथो शृङ्खलामा हामीले काजीको नयाँ प्रेम जीवनको छोटो समयको रोमाञ्चकतालाई क्लोज गर्ने भनेर ‘द फाइनल म्याच’ भन्ने तयारीका साथ कथा निर्माण गरेका थियौँ,’ गुरुङले भने, ‘चौथो शृङ्खला प्रदर्शनपछि दर्शकले त्यसलाई निकै रुचाइदिनुभयो । यसले निर्मातालाई व्यावसायिक रूपमा मात्र नभएर अन्य कुरामा पनि प्रोत्साहन गर्ने रहेछ ।’
उनका अनुसार पहिलोदेखि चौथो भागसम्म आइपुग्दा पात्रहरूको कथा विस्तार हुँदै गएको थियो । काजीको प्रेम जीवनको एउटा अध्याय पूरा भए पनि त्यसपछि उसको जीवन कसरी अघि बढ्छ भन्ने प्रश्न अनुत्तरित थियो ।
‘त्यहाँ चार शृङ्खलासम्म पुग्दा काजीको प्रेम जीवनको एउटा अध्याय त पूरा भयो नि, तर कथा त त्यहाँबाट उता पनि हुन्छ नि,’ उनले भने ।
यही क्रममा काजीको व्यावहारिक जीवनतर्फ कथा लैजाने विषयमा छलफल सुरु भएको गुरुङले बताए । अभिनेता दयाहाङ राईले पनि पाँचौँ भागमा काम गर्ने इच्छा देखाएपछि आफूले लेखन सुरु गरेको उनको भनाइ छ ।
‘दर्शककै हौसलाले काजीको व्यावहारिक पाटो कोट्याउने सोच बन्यो । त्यही क्रममा पाँचौँ शृङ्खलाबारे छलफल भयो । दयासँग सल्लाह गरेँ । दयाले गर्ने भए गरौँ न त भनेपछि मैले लेखन कार्य सुरु गरिहालेँ,’ उनले भने ।
पाँचौँ भाग निर्माण गर्न आफूलाई कुनै बाध्यात्मक दबाब नरहेको गुरुङले स्पष्ट पारे । दर्शकको सकारात्मक प्रतिक्रियाले भने थप हौसला मिलेको उनको भनाइ छ ।
समयसँगै पात्रहरूमा आएको परिपक्वता, उनीहरूको अनुभव र कथालाई थप अघि बढाउने इच्छाले पाँचौँ भागको आधार तयार भएको उनले बताए ।
पात्रसँगै हुर्किएको कथा
‘कबड्डी’ को पाँचौँ शृङ्खलासम्म आइपुग्दा पात्रहरूको आफ्नै संसार निर्माण भइसकेको गुरुङको अनुभव छ । पहिलो भागदेखि नै दर्शकले पछ्याउँदै आएका पात्रहरू पनि दर्शकसँगै हुर्किएको उनी बताउँछन् ।
‘एकदेखि पाँचसम्म आउँदा पात्रको एउटा छुट्टै संसार बनिसक्यो । एकदेखि अहिलेसम्म उही पात्रले दर्शक कमायो, दर्शकसँगसँगै पात्रहरू पनि हुर्किरहेका छन्,’ उनले भने, ‘यिनीहरूको कथा के होला ? मनोविज्ञान कस्तो होला ? कतिपय कुरा हामीले नै भोगेका र अनुभव गरेका कुरा हुन् । हाम्रै समाज वरिपरिको कथासँग जोडिँदै जाने हो ।’
त्यसैले यसपटक विगतका शृङ्खलामा जस्तै जोक, पञ्चलाइन र घटनामा मात्रै केन्द्रित नभई पात्रको उमेर, अनुभव र मनोदशालाई पनि प्राथमिकता दिइएको उनले बताए ।
‘कबड्डी’ का शृङ्खलाहरू धेरै आक्रोश, जोक र पञ्चलाइनका कारण रुचाइएका हुन् जस्तो लाग्छ । अहिले त्यसमा मात्रै केन्द्रित छैनौँ । पात्रहरूको मनोदशा, उमेर र अनुभवअनुसार उनीहरूले कस्तो प्रतिक्रिया दिँदै गइरहेका छन् भन्ने कुरामा बढी ध्यान दिएर काम गरेका छौँ,’ उनले भने ।
गुरुङका अनुसार समय, उमेर र अनुभवले पात्रहरूको जीवनमा प्रभाव पारिसकेको छ । त्यसैले पात्र उही भए पनि उसको प्रतिक्रिया र व्यवहारमा परिवर्तन आउनु स्वाभाविक हो ।
समयसँगै बदलिएको मुस्ताङ
‘कबड्डी’ शृङ्खलाको कथासँगै यसको परिवेश पनि समयसँगै बदलिएको गुरुङले बताए ।
पहिलो भागमा देखिएका मुस्ताङका घर, गल्ली र बाटाहरू अहिले धेरै परिवर्तन भइसकेका छन् ।
‘हामीले सुरुमा छायाङ्कन गरेका स्थानका पुराना घरहरू बजारीकरणसँगै परिवर्तन भइसकेका छन् । पक्की घरहरू बनेका छन् । अहिले त मुस्ताङको पिलपिलेबाहेक घासादेखि माथितिर सबै सडक पक्की बनिसकेका छन्,’ उनले भने ।
पहिले छायांकन गरिएका घर र गल्ली अहिले उस्तै अवस्थामा नरहेको उनले सुनाए । ढुङ्गाले छाएका बाटा र माटाका घरको ठाउँमा पक्की संरचना र ढलान गरिएका सडक बनेका छन् ।
छानामा दाउरा सुकाउने पुरानो चलनदेखि टिनका छाना र ग्यासको प्रयोगसम्म आइपुग्दा मुस्ताङको गाउँको स्वरूपसँगै त्यहाँको जीवनशैली पनि फेरिएको उनको भनाइ छ ।
गाउँको संरचना र जीवनशैलीमा आएको यही परिवर्तनले सिनेमाको दृश्यात्मक पक्षमा समेत प्रभाव पारेको उनले बताए ।
लेखक तथा निर्देशकका रूपमा पाँचौँ भागको पटकथामा काम गर्दा तुलनात्मक रूपमा सहज भए पनि चुनौती भने रहेको गुरुङको भनाइ छ । पहिलोदेखि पाँचौँ भागसम्म एउटै पात्र र कथाको यात्रामा काम गरेकाले पात्रहरूको स्वभाव र कथा अघि बढ्ने दिशा स्पष्ट रहेको उनले बताए ।
‘जुनसुकै स्क्रिप्टमा काम गर्न पनि उत्तिकै च्यालेन्ज हुन्छ । तर एकदेखि अहिलेसम्म एउटै स्क्रिप्टमा काम गरिरहेजस्तो अनुभव हुन्छ । किनभने पात्रहरू अलरेडी डेभलप्ड भइसकेका हुन्छन् । उनीहरूको लाइन सबै क्लियर हुन्छ,’ उनले भने, ‘चौथो भागपछि पाँचौँमा आउँदा दर्शकको अपेक्षा बढ्ने भएकाले त्यसलाई सम्बोधन गर्ने दबाब पनि महसुस हुन्छ ।’
काजीको कथा प्रेमबाट अघि बढेर व्यावहारिक जीवनतर्फ पुगे पनि सिनेमाले विगतका पात्र र उनीहरूबीचको सम्बन्धलाई भने निरन्तरता दिएको छ । पहिलो र दोस्रो भागमा काजी र मैयाँबीचको सम्बन्धले सिर्जना गरेको नोस्टाल्जिया यसपटक पनि दर्शकले अनुभूत गर्न पाउने गुरुङले बताए ।
पाँचौँ भागसम्म आइपुग्दा ‘कबड्डी’ का पात्रहरू पर्दाका काल्पनिक चरित्रभन्दा आफूहरूले देखेभोगेकै समाज र जीवनका पात्रजस्ता लाग्न थालेको उनको अनुभव छ । उनीहरूको कथा र मनोविज्ञान आफ्नै समाज र अनुभवबाट विस्तार हुँदै गएको गुरुङ बताउँछन् ।
बिकेको एआई कनेक्सनदेखि बमकाजीको रहस्यसम्म
यसपटक बिके पात्रलाई कृत्रिम बौद्धिकता (एआई)सँग जोडिएको छ । सिनेमाको टिजरमा पनि यसको झलक देखाइएको छ । तर, कथा लेख्ने क्रममा एआईको विकासलाई केन्द्रमा राखेर यस्तो योजना नबनाइएको गुरुङ बताउँछन् ।
उनका अनुसार बिके सुरुदेखि नै केही छट्टु, बाठो र जानीनजानी प्रविधिमैत्री बन्ने स्वभावको पात्र हो । त्यही पात्रलाई विकास गर्दै जाँदा एआईसँगको सम्बन्ध कथामा स्वाभाविक रूपमा जोडिएको उनको भनाइ छ ।
‘सुरुमा कथा लेख्दा एआईको विकास हुन्छ भन्ने कल्पना थिएन । बिके पात्र पहिलेदेखि अलि छट्टु, बाठो, जानीनजानी प्रविधिमैत्री बन्ने किसिमको छ । त्यही पात्रलाई विकास गर्ने क्रममा नै त्यस्तो आएको हो,’ उनले भने ।
बिके, छन्त्याल र काजीको विवाहसँग जोडिएका व्यक्तिगत प्रसङ्गले पनि कथामा नयाँ तह थपेको उनले बताए ।
यसपटक बमकाजीको भूमिकामा विपिन कार्की देखिँदैछन् । तर उनी सिनेमाका कुन पात्रको जीवनसँग जोडिएर आएका हुन् भन्ने विषयमा भने गुरुङले खुलाउन चाहेनन् ।

