बक्सअफिस: ‘आ बाट आमा २’को कमाइ ४ करोड माथि, ‘१२ गाउँ २’को कमाइ कति ?

काठमाडौं । दशैँको अवसर पारेर असोज ३० गतेदेखि एकसाथ प्रदर्शनमा आएका चलचित्र ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ ।

चलचित्र विकास बोर्डले सोमबाार यी दुई सिनेमाको १० दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।

बोर्डको बक्सअफिस विवरणअनुसार प्रदर्शनको १० दिनसम्मको कमाइमा ‘आ बाट आमा २’ अगाडि देखिएको छ । आइतबार रातिसम्मको तथ्यांकअनुसार ‘आ बाट आमा २’ ले ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाइ गरेको छ । त्यस्तै, ‘१२ गाउँ २’को १ करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कलेक्सन रहेको छ ।

बक्सअफिस विवरणअनुसार ‘आ बाट आमा २’ का १ लाख ३१ हजार ४ सय ९१ वटा टिकट बिक्री भएका छन् । ‘१२ गाउँ २’ का भने ५७ हजार ९ सय ८३ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ । दुवै चलचित्रको टिकट बिक्री संख्या समान देखिए पनि ग्रस कमाइमा भने ‘आ बाट आमा २’ अगाडि रहेको छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा २’ ले आमा र सन्तानबीचको भावनात्मक सम्बन्ध, पारिवारिक प्रेम र सम्बन्धको गहिराइलाई कथाको मुख्य विषय बनाएको छ । चलचित्रमा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन् । पारिवारिक कथावस्तुमा आधारित यस चलचित्रले दर्शकको भावनासँग जोडिने प्रयास गरेको छ ।

यता, विराज भट्टको निर्देशनमा बनेको एक्सनप्रधान चलचित्र ‘१२ गाउँ २’ मा विराज भट्ट र समीर भट्ट मुख्य आकर्षणका रूपमा छन् । एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधलाई समेटिएको चलचित्रमा अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटानी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ ।

यसै चलचित्रमार्फत कृशु शाही (काफिया) र वर्षा इटानीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् । महेश पौडेलको छायांकन रहेको चलचित्रको कथा तथा पटकथा सन्तोष सरकारको छ ।

बक्सअफिसमा सार्वजनिक भएको विवरणअनुसार हालसम्म ‘आ बाट आमा २’ ले ‘१२ गाउँ २’ भन्दा बढी ग्रस कमाइ गरेको देखिन्छ । यद्यपि, चलचित्रको व्यापार प्रदर्शन अवधि, दर्शकको चाप र आगामी दिनमा हुने टिकट बिक्रीसँगै परिवर्तन हुन सक्छ ।