८२ हजार ७ सय बढीले हेरे ‘छ माया छपक्कै २’, कमाइ कति ?
काठमाडौं । फूलपातीको अवसर पारेर असोज ३१ देखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ले साढे दुई करोड माथि कमाएको छ ।
सोमबार चलचित्र विकास बोर्डले यो चलचित्रको ९ दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।
बोर्डको विवरण अनुसार कार्तिक ९ गते आइतबारसम्म ‘छ माया छपक्कै २’ले २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कमाएको छ । यो चलचित्रका ८२ हजार ७ सय ५९ वटा टिकट बिक्री भएका छन् ।
दीपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै २’ मा दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराई मुख्य भूमिकामा छन् ।
सामाजिक विषयवस्तुमा आधारित रोमान्टिक-कमेडी ड्रामा रहेको चलचित्रमा मेक्सम गौँडेल, रमा थपलिया, रवीन्द्र झा, दीपाश्री निरौला, निर्मल शर्मा, प्रकाश घिमिरे, कर्मालगायत कलाकारको पनि अभिनय रहेको छ ।
सिनेमामा विश्वास, प्रेम, सन्तानत सुख, छटपटी, विश्वास, आशा, सम्बन्ध, छलकपट र धोकाको सेरोफेरोमा सिनेमाको कथा रहेको छ । दीपकराज गिरी यो सिनेमामा पठाओ चालकको भूमिकामा रहेका छन् ।
रोहित अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी छन् ।

