सिक्किमको युमथाङबाट सुरु भयो ‘ऊनको स्वीटर’को सिक्वेलको छायांकन
काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेलका रूपमा निर्माण हुन लागेको ‘कलेजी ऊनको स्वीटर’को छायांकन सुरु भएको छ । निर्देशक नवीन चौहानले भारतको सिक्किमस्थित युमथाङ उपत्यकाबाट चलचित्रको छायांकन शुभारम्भ गरेका हुन् ।
निर्देशक चौहानका अनुसार स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभमुहूर्त सम्पन्न गरी छायांकन थालिएको हो । छायांकनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको उनले बताएका छन् ।
छायांकनको शुभारम्भ कार्यक्रममा सिक्किम चलचित्र बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति रहेको थियो ।
‘ऊनको स्वीटर’ले दर्शकमाझ स्थापित गरेको भावनात्मक संसारलाई थप विस्तार गर्ने उद्देश्यसहित ‘कलेजी ऊनको स्वीटर’ निर्माण गर्न लागिएको निर्देशक चौहानले बताएका छन् । अघिल्लो चलचित्रमा प्रस्तुत कथा, पात्र र तिनले दर्शकमा छोडेका अनुभूतिलाई नयाँ परिवेशमा जोड्दै सिक्वेललाई अघि बढाउन खोजिएको उनको भनाइ छ ।
नयाँ चलचित्रमा काफ्ले, फूल, डम्बर र ईक्क्षासँग जोडिएका कथालाई निरन्तरता दिँदै प्रेम, जीवन र मानवीय संवेदनाका थप आयाम प्रस्तुत गरिने जनाइएको छ । अघिल्लो चलचित्रसँग भावनात्मक सम्बन्ध कायम राख्दै पात्रहरूको संसारलाई फराकिलो बनाउने प्रयास यसमा रहनेछ ।
चलचित्रको छायांकन नेपालका साथै भारतको दार्जिलिङ, सिक्किम र दिल्लीमा गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ ।
आर्टमाण्डुको निर्माणमा बन्न लागेको चलचित्रमा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई तथा रुश्मा राईलगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्दैछन् । अभिषेक सुवेदी सहलेखक तथा प्रमुख सहायक निर्देशकका रूपमा आबद्ध छन् भने छायाकंनको जिम्मेवारी चिन्तन राजभण्डारीले सम्हालेका छन् । चलचित्रमा कोविद बज्रको सङ्गीत रहनेछ ।
‘ऊनको स्वीटर’ले दर्शकमाझ बनाएको प्रभावलाई निरन्तरता दिनु ‘कलेजी ऊनको स्वीटर’का लागि महत्त्वपूर्ण पक्ष हुनेछ । सिक्वेल निर्माण गर्दा अघिल्लो चलचित्रसँग दर्शकको भावनात्मक सम्बन्ध कायम राख्नुका साथै नयाँ कथाले आफ्नै पहिचान स्थापित गर्नुपर्ने चुनौती पनि रहन्छ ।


