दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

पोखरा । चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । गत असोज १ गते कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको चलचित्रको मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै इन्डक्ल्याप गरिएको हो ।

गुरुङ सभ्यता, संस्कृति, संस्कार र ऐतिहासिक परिवेशलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण भएको यस चलचित्रको परिकल्पना गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री माननीय वेदबहादुर गुरुङ (श्याम)ले गरेका हुन् ।

अभियान फिल्म्स प्रोडक्सन प्रा.लि., पोखराको ब्यानरमा निर्माण भएको यो चलचित्रले गुरुङ समुदायको मौलिक जीवनशैली, सांस्कृतिक पहिचान र ऐतिहासिक कथालाई प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।

ओमप्रकाश गुरुङले गरेका निर्देशन गरेको चलचित्र ‘बुकी फूल’मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् । यसै चलचित्रमार्फत अभिनेत्री संस्कृति गुरुङले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन् । उनका लागि ‘बुकी फूल’ पहिलो चलचित्र हुनेछ ।

चलचित्रमा दयाहाङ र संस्कृतिसँगै पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, डीबी गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ र प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ ।

‘बुकी फूल’को छायांकन सुसान प्रजापतिले गरेका हुन् । चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् भने सहायक निर्देशकका रूपमा विशाल राई र सुरेन्द्र सिंह छन् ।

चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएसँगै निर्माण पक्ष अब चलचित्रको पोस्ट प्रोडक्सनअन्तर्गत सम्पादन कार्य सुरु गर्ने तयारीमा जुटेको छ । चलचित्रको कथावस्तु, प्रदर्शन मिति र अन्य विवरणबारे निर्माण पक्षले थप जानकारी सार्वजनिक गर्न बाँकी छ ।