‘खराने ग्याङ’का लिडरको अभिव्यक्तिप्रति दीपकराज गिरीको आपत्ति, भने– ‘जातीयता छिराएर घृणा फैलाउने कुराको विपक्षमा छु’

काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा चर्चामा रहेको ‘खराने ग्याङ’का लिडरको अभिव्यक्ति र सार्वजनिक भइरहेका भिडियोप्रति आपत्ति जनाएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै आफ्नो पुरानो अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर सम्पादन गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

विशेषगरी प्रदर्शनरत चलचित्र ‘छ माया छपक्कै २’ को नौ दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो सिनेमालाई लिएर विभिन्न टिप्पणी र भिडियोहरू सार्वजनिक भइरहेका छन् ।

चलचित्रले अपेक्षाअनुसार व्यापार गर्न नसकेको भन्दै केही प्रयोगकर्ताले दीपकराजका पुराना अभिव्यक्तिका क्लिपहरू काटेर सार्वजनिक गरिरहेका छन् । ती भिडियोमार्फत चलचित्र बहिष्कार गर्नुपर्ने आशयका सन्देशसमेत फैलाइएको देखिन्छ ।

जेन-जी आन्दोलनदेखिनै अभिनेता गिरी निशानामा परिरहेका छन् । आन्दोलनमा सक्रिय भएको बताउँदै उनलाई दर्शकहरूले सामाजिक सञ्जालमा ‘खराने ग्याङ’ का लिडर भन्दै सम्बोधन गर्छन् । यही विषयलाई लिएर उनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । दीपकराजले आफ्नो भनाइको आशय कसैलाई लखेट्ने, पिट्ने वा भगाउने नभई असहमतिलाई बौद्धिक ढंगले प्रस्तुत गर्नुपर्ने रहेको स्पष्ट पारेका छन् ।

‘कसैलाई लखेट्नु, पिट्नु, भगाउनु राम्रो होइन । यदि असहमति छ भने बौद्धिकताले लखेट्नुपर्छ,’ भन्ने आफ्नो अभिव्यक्तिलाई स्मरण गराउँदै उनले केही अतिवादी कार्यकर्ताले त्यसमा अनेक प्रसंग जोडेर र बीचका अंश सम्पादन गरेर गलत व्याख्या गरेको आरोप लगाएका छन् । आफ्नो तस्बिर राखेर बहिष्कारका नारा लगाउँदै सामाजिक सञ्जालमा सामग्री फैलाइएको देख्दा आफूलाई आश्चर्य लागेको उनको भनाइ छ ।

दीपकराजले आफ्नो स्टाटसमार्फत जातीयता र अतिवादलाई राजनीतिसँग जोडेर समाजमा द्वन्द्व सिर्जना गर्ने प्रवृत्तिको पनि विरोध गरेका छन् । वर्षौंदेखि सहिष्णुतामा हुर्किएको नेपाली समाजमा जातीय विभाजन र घृणा फैलाएर राजनीतिक स्वार्थ पूरा गर्न खोज्नु गलत भएको उनको आशय छ ।

कला र संस्कृतिजस्तो सबैलाई जोड्ने क्षेत्रसमेत जातीय विभाजनको माध्यम बन्न नहुने उनले बताएका छन् । जातपात र धर्मका विषयलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्दै समाजमा घृणा फैलाउने प्रवृत्तिको आफू सधैँ विपक्षमा रहेको र आगामी दिनमा पनि त्यही अडानमा रहने उनले उल्लेख गरेका छन् ।

‘हरेक कुरामा जातीयता छिराउने, अतिवादको बुइँ चढेर वर्षौंदेखिको सहिष्णुतामा हुर्केको समाजमा द्वन्द्व सिर्जना गरेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने, साथै कला र संस्कृति क्षेत्रमा समेत जातपात छिराएर घृणा फैलाउने कुराको सदैव विपक्षमा नै उभिएको थिएँ र रहिरहनेछु,’ उनले लेखेका छन् ।

स्टाटसको अन्त्यमा उनले जात र धर्मलाई राजनीतिक स्वार्थसँग जोडेर समाजमा विभाजन ल्याउने प्रयासप्रति असहमति जनाउँदै ‘जय नेपाल’ लेखेका छन् ।

यस्तो छ दीपकको स्टाटस

“कसैलाई लखेट्नु, पिट्नु, भगाउनु राम्रो होइन,
यदि असहमति छ भने बौद्धिकताले लखेट्नुपर्छ भन्ने नै थियो। तर मेरो अभिव्यक्तिलाई केही अतिवादी कार्यकर्ताहरूले अनेकौँ फुर्का थपेर, बीचका अंश सम्पादन गरेर, गलत व्याख्या लगाउँदै मेरो फोटो राख्दै बहिष्कारको नारा लगाउँदै सामाजिक सञ्जाल रङ्गाएको देख्दा ताज्जुब नै लाग्यो!

हरेक कुरामा जातीयता छिराउने, अतिवादको बुइँ चढेर वर्षौंदेखिको सहिष्णुतामा हुर्केको समाजमा द्वन्द्व सिर्जना गरेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने, साथै कला र संस्कृति क्षेत्रमा समेत जातपात छिराएर घृणा फैलाउने कुराको सदैव विपक्षमा नै उभिएको थिएँ र रहिरहनेछु।

जात, पात, धर्म भनेको श्राद्धे र पूजाआजामा काम लाग्ला, राजनीतिमा लाग्दैन… जय नेपाल!”