‘चिरञ्जीवी भवः’ को पोस्टरमा गम्भीर हरिवंश, खुसी आशीर्वाद र प्रशंसा

काठमाडौं । ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले शनिबार दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा सिनेमाका मुख्य तीन पात्र हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन् ।

एउटा पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन् । हरिवंश गम्भीर मुद्रामा देखिँदा आशीर्वाद र प्रशंसा हाँसिरहेका छन् ।

क्याजुअल लुक्समा रहेका आशीर्वाद कसैलाई हेरेर हाँसिरहेका छन् । बुट्टे चोली र सारीमा रहेकी प्रशंसा पनि क्याजुअल शैलीमा गज्जवले हाँसिरहेकी छन् । शीर छड्के पारेकी उनको अनुहारमा आइपुगेको दुई फुर्का कपालले उनको चंगा मनलाई संकेत गरिरहेको छ ।

पोस्टरको केन्द्रमा छन्, सुकिलो मुहारमा रहेका पोस्टर साइजका हरिवंश । सेतै फूलेको कपाल र जुँगा, नयाँ ढाका टोपी र चिल्लो गोरो अनुहारले उनलाई खानदानी परिवारको घरमुली रहेको प्रस्ट पारेको छ । पृष्ठभूमीको मन्दिर र टाइटलको पृष्ठभूमीमा रहेको खामले समय र धार्मिक आस्थालाई देखाउने प्रयास गरेको छ ।

अर्को पोस्टरमा छन्, हरिवंश र आशीर्वाद । यसमा हरिवंश आशीर्वादलाई आशीर्वाद दिइरहेका छन् । उस्तै क्याजुअल पहिरनमा रहेका आशीर्वादलाई सुकिलो दौरा सुरुवाल र ज्वारीकोटमा रहेका रवाफिला हरिवंश आशीर्वादलाई आशीर्वाद दिइरहेका छन् ।

यो पोस्टरले सिनेमाको नामलाई बोक्ने प्रयास गरेको छ । अथवा आशीर्वाद दिँदा ‘चिरञ्जीवी भवः’ भनिरहेको जस्तो लाग्छ । उनीहरू बुवा र छोराको भूमिकामा रहेको अनुमान पोस्टरबाट लगाउन सकिन्छ ।

चलचित्र ‘चिरञ्जीवी भवः’मा हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को क्यारेक्टरमा देखिँदैछन् ।

ब्लकबस्टर निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’ माघ १ गतेबाट रिलिज हुँदैछ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ ।

गत वर्ष निर्देशक आचार्यले निर्देशन गरेको ब्लकबस्टर चलचित्र ‘परान’ वर्षकै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो । उनको निर्देशनमा बनेको यो दोस्रो चलचित्र कस्तो हुनेछ भन्ने धेरैमा प्रतीक्षा छ । यस कारण नै यो सिनेमा प्रतिक्षित बनेको छ ।

यो चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गरेका छन् ।

यो चलचित्रमा अभिनेता हरिवंश, आशीर्वाद र मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीसँगै अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय रहेको छ ।

कुमार कट्टेलले तयार पारेको कथाको लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् ।

सोसल ड्रामा ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ ।

उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

निर्देशक दीपक आचार्य आफैँले यस चलचित्रको गीतसमेत लेखेका छन्, जसमा हर्क साउदको पनि सहकार्य रहनेछ । रञ्जित गजमेरको पनि सिनेमामा गीत रहनेछ ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन छ । बाबु गिरी, सुशान्त गौतम, निरन्जन थापा र समीर खरेलको संगीत रहेको छ ।

गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् । रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् भने सहायक निर्देशकहरूमा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल छन् ।

सिनेमामा प्रोजेक्ट म्यानेजरका रूपमा सुवास राज काफ्ले रहेका छन् भने प्रोडक्सन डिजाइनर विशाल न्यौपाने छन् । मेकअपमा विक्रम गौतम, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, प्रोडक्सनमा विष्णुप्रसाद मैनाली र अनिश लामिछाने तथा पब्लिसिटी डिजाइनमा टाउवा स्टुडियो (विजय बस्याल) रहेका छन् ।

यो चलचित्र माघ १ गते (१५ जनवरी) बाट देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ । यसलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने भएको छ ।