‘मेरोस्ट्रिम’ ओटीटी आजदेखि सञ्चालनमा, एउटै सदस्यतामा फिल्मदेखि वेब सिरिजसम्म

काठमाडौं ।  नेपाली मनोरञ्जनलाई डिजिटल माध्यमबाट दर्शकसम्म पुर्‍याउने उद्देश्यले स्थापित नयाँ ओटीटी प्लेटफर्म ‘मेरोस्ट्रिम’ आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । सदस्यता शुल्कमा आधारित यो प्लेटफर्मले दर्शकलाई एउटै सदस्यताबाट चलचित्र, वृत्तचित्र, लघुचलचित्र, शो र वेब सिरिज हेर्न सक्ने सुविधा दिएको छ ।

नेपालमा इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दै गए पनि नेपाली सामग्रीका लागि भरपर्दो र व्यवस्थित डिजिटल मञ्चको अभाव कायमै छ । दर्शकले आफ्नै भाषा र संस्कृतिका सामग्री हेर्न चाहँदा कहिले यूट्युबमा छरिएका भिडियो खोज्नुपर्छ, कहिले सिनेमा हलमा सीमित अवधिका लागि मात्र पर्खनुपर्छ । यही अभाव पूरा गर्ने उद्देश्यले मेरोस्ट्रिम सञ्चालनमा आएको हो ।

मेरोस्ट्रिमले दर्शकको आवश्यकता र खर्च गर्न सक्ने क्षमताअनुसार बेसिक, स्ट्यान्डर्ड र प्रिमियम गरी तीन सदस्यता योजना ल्याएको छ ।

बेसिक: एक्लै हेर्नेका लागि बनाइएको यो योजना मासिक रु. २९९ बाट सुरु हुन्छ । यसमा १०८०पी (फुल एचडी) गुणस्तरमा एकपटकमा एउटा डिभाइसमा हेर्न मिल्छ। तीन महिनाका लागि रु. ८४९, छ महिनाका लागि रु. १,६०९ र वार्षिक रु. २,८६९ तिर्न सकिन्छ ।

स्ट्यान्डर्ड: दम्पती तथा साना घरपरिवारका लागि भनिएको यो योजना मासिक रु. ३९९ मा उपलब्ध छ। यसमा १०८०पी (फुल एचडी) गुणस्तरमा एकैसाथ दुईवटा डिभाइसमा हेर्न सकिन्छ। तीन महिनाको रु. १,१२९, छ महिनाको रु. २,१४९ र वार्षिक रु. ३,८२९ शुल्क तोकिएको छ ।

प्रिमियम: सिङ्गो परिवारका लागि बनाइएको र प्लेटफर्मले “लोकप्रिय” भनेर चिनाएको यो योजना मासिक रु. ५९९ मा उपलब्ध छ। यसमा चयनित सामग्रीमा फोर के (4K) (अल्ट्रा एचडी) गुणस्तरमा हेर्न पाइन्छ र एकैसाथ चारवटासम्म डिभाइसमा चलाउन मिल्छ । तीन महिनाको रु. १,६९९, छ महिनाको रु. ३,२२९ र वार्षिक रु. ५,७४९ शुल्क छ ।

टिमका अनुसार तीनवटै योजनामा विज्ञापनमुक्त हेर्न पाइन्छ, एउटै खातामा चारवटासम्म प्रोफाइल बनाउन सकिन्छ र क्रोमकास्ट वा एयरप्लेमार्फत टिभीमा हेर्न सकिन्छ । लामो अवधिको योजना रोज्दा मासिकभन्दा सस्तो पर्छ । छ महिनाको योजनामा १० प्रतिशत र वार्षिक योजनामा २० प्रतिशतसम्म बचत हुने प्लेटफर्मले जनाएको छ । प्रति सामग्री शुल्क, भाडा वा क्रेडिट जस्ता थप खर्च छैन, र कुनै सम्झौता वा सेट-अप शुल्क पनि लाग्दैन ।

मेरोस्ट्रिमका अनुसार एउटै सदस्यताले पूरा सामग्री सूची समेट्छ । नयाँ सामग्री प्रत्येक हप्ता वा महिना थपिँदै जानेछ। केही सामग्री निश्चित देशका लागि मात्र इजाजत लिइएको हुने भएकाले दर्शक जुन देशमा छ, त्यहीँ उपलब्ध सामग्री मात्र देखिन्छ। यात्रामा हुँदा दर्शकले त्यस बेला रहेको देशमा उपलब्ध सामग्री हेर्न पाउँछन् ।

भिसा, मास्टरकार्ड र अमेरिकन एक्सप्रेसबाट जुनसुकै देशबाट भुक्तानी गर्न सकिन्छ । नेपाल र केही अन्य देशमा खल्ती र इसेवाबाट नेपाली रुपैयाँमै भुक्तानी गर्न मिल्छ। कार्डबाट गरिएको भुक्तानी प्रत्येक बिलिङ अवधिको अन्त्यमा स्वतः नवीकरण हुन्छ, जसले सेवामा अवरोध आउँदैन । खल्ती र इसेवाबाट गरिएको भुक्तानी भने आफैँ नवीकरण हुँदैन, प्रयोगकर्ताले फेरि भुक्तानी गर्नुपर्छ। म्याद सकिनु अगाडि प्लेटफर्मले सम्झना गराउने जनाएको छ ।

सदस्यता रद्द गर्न खाता सेटिङमा गएर छनोट गर्नुपर्छ । रद्द गर्दा कुनै शुल्क लाग्दैन । चालु अवधि सकिएसम्म पूर्ण पहुँच कायम रहन्छ र त्यसपछि सदस्यता नवीकरण हुँदैन ।

प्रिमियम योजनामा सहयोग गर्ने सामग्री र डिभाइसमा फोर के (4K) अल्ट्रा एचडीसम्म स्ट्रिमिङ सुविधा दिइएको छ। उत्कृष्ट फोर के अनुभवका लागि करिब २५ एमबीपीएस इन्टरनेट गति सिफारिस गरिएको छ। सबै योजनामा इन्टरनेट गतिअनुसार भिडियोको गुणस्तर स्वतः मिल्ने भएकाले नेटवर्क कमजोर हुँदा पनि हेर्न रोकिँदैन ।

सामग्री उपलब्ध भएसम्म दर्शकले हेर्दाहेर्दै सबटाइटल र अडियो भाषा बदल्न तथा प्लेब्याक गति मिलाउन सक्छन् । मोबाइल, ट्याब्लेट वा ल्यापटपमा ब्राउजरबाटै हेर्न मिल्ने र एउटा डिभाइसमा छोडेको ठाउँबाट अर्कोमा जारी राख्न सकिने सुविधा रहेको टिमको भनाइ छ ।

सुरुवाती चरणमा मेरोस्ट्रिमले विविध विधाका सामग्री प्रस्तुत गरिने भएका छन् । जसमा चलचित्र ‘कुमारी’ र ‘कथापुतली’, लघुचलचित्र ‘आमा’, ‘डल्स हाउस’ र ‘मिसिङ ब्राइड’ शो: ‘मेरो माइक’ स्ट्यान्डअप कमेडी शो,  र ‘हजुर आमाको कथा’ रहेका छन् ।

सिनेमा हलको पहुँच मुख्यतः सहरी क्षेत्रमा सीमित छ। लघुचलचित्र, वृत्तचित्र र प्रयोगात्मक सामग्रीलाई हलमा स्थान पाउन गाह्रो हुन्छ, जसले स्वतन्त्र निर्माताहरूलाई निरुत्साहित गरेको छ। सामग्री निःशुल्क प्लेटफर्ममा राख्दा निर्माताले आम्दानी गर्न सक्ने स्थिर मोडेल बन्दैन। विदेशी ओटीटी प्लेटफर्महरू उपलब्ध भए पनि तिनमा नेपाली सामग्री कम हुन्छ, भुक्तानी प्रक्रिया जटिल हुन्छ र मूल्य पनि नेपाली दर्शकका लागि महँगो पर्न सक्छ। यस्तो अवस्थामा एउटै सदस्यताबाट विविध विधाका सामग्री एकै ठाउँमा उपलब्ध हुँदा दर्शकले आफ्नो समय र सुविधाअनुसार घरमा, यात्रामा वा जुनसुकै स्थानबाट हेर्न सक्छन्। यसले नेपाली निर्माता र कलाकारका लागि आफ्ना कृति दर्शकसम्म पुर्‍याउने नयाँ बाटो खोल्नुका साथै सदस्यताबाट आम्दानीको स्थिर स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ। बहुभाषा र सबटाइटलको सुविधाले नेपाली सामग्रीलाई विदेशमा रहेका नेपाली समुदाय र अन्य भाषाका दर्शकसम्म पुर्‍याउन पनि मद्दत गर्ने छ।

दर्शकले वेबसाइटमा इमेल हालेर साइन अप गर्ने, इमेलमा आएको लिङ्कबाट प्रमाणित गर्ने, योजना छनोट गरेर भुक्तानी गर्ने र त्यसपछि तुरुन्तै हेर्न थाल्न सक्छन्। ब्राउजरमा वा एपका रूपमा इन्स्टल गरेर पनि प्रयोग गर्न मिल्छ। मेरोस्ट्रिम फेसबुक, इन्स्टाग्राम, टिकटक, यूट्युब, एक्स (ट्विटर) र लिङ्क्डइनमा पनि उपलब्ध छ।

नेपाली सामग्रीलाई विश्वव्यापी दर्शकसम्म पुर्‍याउने र स्थानीय सिर्जनशीलतालाई प्रोत्साहन गर्ने लक्ष्यसहित सञ्चालनमा आएको मेरोस्ट्रिममा आगामी दिनमा थप सामग्री थपिँदै जाने अपेक्षा गरिएको छ।