पछिल्लो सात दिनमा ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ले कति कमाए ?
काठमाडौं । दशैँको अवसर पारेर असोज ३० गते एकैदिन प्रदर्शनमा आएका चलचित्र ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’को बक्स अफिस व्यापारमा ठूलो अन्तर देखिएको छ । प्रदर्शनको सुरुवाती १० दिनमा कमाइमा अगाडि रहेको ‘आ बाट आमा २’ले त्यसपछिको सात दिनमा पनि आफ्नो अग्रता कायम राखेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो सात दिनसहितको बक्स अफिस विवरणअनुसार ‘आ बाट आमा २’ले हालसम्म ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस व्यापार गरेको छ । यो अवधिसम्म चलचित्रका २ लाख १३ हजार १९४ वटा टिकट बिक्री भएका छन् ।
यता, ‘१२ गाउँ २’ले भने हालसम्म २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ ग्रस कमाइ गरेको छ । चलचित्रका ७४ हजार ८०३ वटा टिकट बिक्री भएका छन् ।
यसअघि प्रदर्शनको १० दिन अर्थात् कात्तिक ८ गतेसम्मको बक्स अफिस विवरणमा ‘आ बाट आमा २’ले ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाइ गरेको थियो । उक्त अवधिमा चलचित्रका १ लाख ३१ हजार ४९१ वटा टिकट बिक्री भएका थिए ।
त्यस्तै, ‘१२ गाउँ २’ले पहिलो १० दिनमा १ करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस व्यापार गरेको थियो । यसका ५७ हजार ९८३ वटा टिकट बिक्री भएका थिए ।
अघिल्लो १० दिनको कमाइलाई पछिल्लो सात दिनको समग्र व्यापारबाट घटाउँदा ‘आ बाट आमा २’ले त्यसपछिको सात दिनमा २ करोड १३ लाख २३ हजार २८२ रुपैयाँ ग्रस कमाएको देखिन्छ । यस अवधिमा चलचित्रका थप ८१ हजार ७०३ वटा टिकट बिक्री भएका छन् ।
त्यस्तै, ‘१२ गाउँ २’ले पछिल्लो सात दिनमा ४५ लाख ६३ हजार १०० रुपैयाँ ग्रस व्यापार गरेको देखिन्छ । यस अवधिमा चलचित्रका थप १६ हजार ८२० वटा टिकट बिक्री भएका छन् ।
तथ्यांकअनुसार पछिल्लो सात दिनको व्यापारमा पनि ‘आ बाट आमा २’ निकै अगाडि देखिएको छ । पहिलो १० दिनमा दुई चलचित्रबीच रहेको २ करोड २७ लाख ५१ हजार ९६२ रुपैयाँको कमाइ अन्तर पछिल्लो सात दिनमा थप बढेको छ ।
समग्रमा हेर्दा ‘आ बाट आमा २’को व्यापार निरन्तर बलियो देखिएको छ भने ‘१२ गाउँ २’को कमाइ अपेक्षाकृत सुस्त देखिएको छ ।


