‘म पूर्ण भीम होइन, भीमको अंश हुँ’ : जितु नेपाल

अभिनेता जितु नेपाल यही कार्तिक २० गतेबाट रिलिज हुने चलचित्र ‘पाँच पाण्डव’मा भीमसेन चरित्रमा देखिँदैछन् । ट्रेलरमा जितुलाई अभिनेता हरिवंश आचार्यले भीम भनेर बोलाउँदा ‘म त भीमसेन हो’ भनेको दृश्य राखिएको छ ।

भीम भन्नासाथ महाभारतको त्यो चरित्रको सम्झना आउँछ, जो पाँच पाण्डवमध्ये सबैभन्दा बलिया थिए । तर ट्रेलरमा जितुलाई भीमका रुपमा प्रस्तुत गरिएपछि उनी कसरी भीम भए भन्ने चर्चा नचलेको पनि होइन ।

यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । ‘पाँच पाण्डव’मा जितुसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, दीपाश्री निरौला, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

चलचित्रका नवीन श्रेष्ठ प्रस्तुतकर्ता चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् । ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ ।

प्रदर्शनको तयारीमा रहेको चलचित्रका बारेका आर्टखबरले जितुसँग गरेको छोटो कुराकानी :

पाँच पाण्डवको के कुराले फिल्ममा जोडिनुभयो ?
निर्देशक वसन्त निरौलासँग मैले ‘ज्वाइँ साब’मा काम गरिसकेको थिएँ । लेखक सुशील पौडेलजीसँग पनि पुरानै सम्बन्ध थियो । निर्माता नविन श्रेष्ठसँग उहाँले फिल्म ‘लाज शरणम्’ बनाउँदा खेरी नै चिनजान थियो । प्रायः भेटघाट भइरहने हुँदा फिल्म गरौँ भन्ने कुरा भयो । अनि पाँच जना पाण्डव चाहिँदा म त पर्ने कुरा भइहाल्यो ।

टिजर हेर्दा तपाईं भीमसेन चरित्रमा हुनुहुन्छ । त्यो चरित्रमा फिट छु भन्ने लाग्यो ?
यो सही कुरा हो । किनभने भीम भन्दा त त्यति ठूलो चरित्र हो । त्यो नै रमाइलो छ । किनभने यो ठ्याक्कै पाँच पाण्डव नै होइन । कसैले तँ भीम हो भन्ने होइन । हामीले ट्रेलर टिजरमा देखाइसकेका छौं । एउटा युधिष्टिर जो स्वर्गमा दाजुभाई बीना दुःखी हुनुहुन्छ, सुखी हुनुहुन्न । उहाँलाई सम्झना आउँछ चार जना भाइहरूको । अनि ५१ सय वर्ष पछि पनि कुनै न कुनै रूपमा जन्मे होला नि मेरा भाइहरू भनेर उहाँले नेपाल नगरीमा छन् है भनेपछि उहाँले आएर तँ भीम होस्, तँ अर्जुन होस् । त मेरो नहकुल होस् भन्ने क्यारेक्टर हो । आफैँ भीम हो भनेको छैन । कसैले त्यो क्यारेक्टर सम्झन त पायो नि त । कसैले भीम सानो हुनुभयो पनि भने । तर भीम सानै हुन नपाउने भन्ने त होइन नि ।

चरित्रका लागि तयारी थियो कि थिएन ?
मैले अलि अलि गरेँ । म पूर्ण रूपमा भीम छैन । हामी एउटा खाली पाण्डवको अंश रहेछन् यिनीहरू । कहीँ कतै कनेक्ट गर्छन् भन्ने कल्पनामा आउने हो । नत्र हामी पूर्ण रूपमा भीम पात्र होइन । म इट्टा भट्टाको मजदुर हो । त्यसकारण मैले निर्देशकको निर्देशन र कथा अनुसार जे माग छ, त्यही अनुसार गरेको हुँ ।

धर्मसँग जोडिएको कथामा फिल्ममा काम गर्दा कस्तो अनुभव हुँदो रहेछ ।
त्यो त एकदमै राम्रो । अवश्य पनि महाभारत जस्तो, पाण्डव जस्तो चरित्रमा फिल्म बन्छ भन्दा त्यस्तो कथाको फिल्ममा जोडिन पाउँदा मलाई त खुशी लागेको छ । यसको विषय चाहिँ राम्रो छ किनभने हामीले पोस्टर र ट्रेलरका लागि पाण्डवको जस्तो आउटलुक बनाएको छौं । तर बाँकी नर्मल कुराहरू हुन् ।

यो फिल्ममा काम गर्दा तपाईँलाई चुनौती चाहिँ के थियो ?
यो फिल्ममा मेरो जोडी नै दीपा दिदी हुनुहुन्छ । मैले यसअघि पनि दीपा दिदीसँग काम गरेको छौं । तर यसमा चाहिँ भीमको श्रीमतीको रोल आयो । त्यो नौलो अनुभव भयो । अर्को कुरा हरिवंश आचार्यज्यूसँग पहिलो पटक स्क्रिन शेयर गरेँ । युधिष्ठिरले भीमलाई सम्झाउँछन् त्यो खालको मलाई फरक अनुभव भयो । अनि पाँच पाण्डव छन्, अरू पनि कलाकार हुनुहुन्छ । यो धेरै ठूलो क्यान भासको स्टार भएको फिल्ममा म आफू कसरी प्रस्तुत हुने, कुन रूपले जितुलाई सम्झेलान् भन्ने क्यारेक्टरलाई फोकस गरेको छु ।

तपाई जोडिएको फिल्ममा दर्शकले कमेडी पनि हेर्न चाहन्छन् । त्यो चाहना पुरा हुन्छ कि हुँदैन ?
त्यो चाहना केही हदसम्म पुरा हुन्छ । हल्का रूपमा हुन्छ । किनभने यो त एउटै मान्छेको कथा होइन । पाँच जना भाइको कथा हो । त्यस कारण हरेक कलाकारका आ–आफ्ना पाटा छन् । आ–आफ्ना कथा छन् । त्यस कारण जति कथाले मागेको छ, जति दृश्यले मागेको छ, त्यसमा चाहिँ हाम्रो कमेडी छ । त्यो ट्रेलरमा पनि देखिएको छ।