हरिवंशले प्रस्ट पार्दै भने– महाभारतको कथामा आधारित चलचित्र होइन, सानो विम्ब मात्र हो

काठमाडौं । कलाकार हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’ विवादबारे प्रस्ट पारेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सिनेमा हेरेपछि मात्रै धारणा बनाउनु न्यायसंगत हुने बताएका छन् ।

सिनेमा नहेरी केही प्रचार सामग्री मात्रै हेरेर मूल्यांकन नगर्न उनको आग्रह छ । ‘पाँच पाण्डव’ महाभारतको कथामा आधारित चलचित्र नभएको पनि उनले प्रस्ट पारेका छन् ।

“पछिल्लो समय नेपाली चलचित्र ‘पाँच पाण्डव’लाई लिएर विभिन्न टीका–टिप्पणी तथा विवादहरू सार्वजनिक भइरहेका छन्,” उनले लेखेका छन्, “चलचित्र प्रदर्शनमा आउन बाँकी नै रहेको र यसको पूर्ण कथावस्तु दर्शकसमक्ष प्रस्तुत हुन बाँकी रहेको अवस्थामा केही गीत, दृश्य वा प्रचार सामग्रीका आधारमा समग्र चलचित्रबारे धारणा बनाउनु न्यायोचित हुँदैन ।”

‘पाँच पाण्डव’ महाभारतको कथामा आधारित चलचित्र नभई समकालीन नेपाली समाजको कथावस्तुमा आधारित चलचित्र भएको उनको दाबी छ । चलचित्रमा महाभारतबाट एउटा सानो विम्ब मात्र ग्रहण गरिएको उनले जानकारी दिएका छन् । ।

“यसमा महाभारतका केही पात्रहरूको नामलाई कथाको सन्दर्भमा मात्र प्रयोग गरिएको छ । साथै, चलचित्रमा महाभारतकी द्रौपदीको चरित्र वा भूमिका समावेश गरिएको छैन,” उनले लेखेका छन् ।

“यसर्थ, सम्पूर्ण दर्शक, शुभचिन्तक तथा सरोकारवाला महानुभावहरूमा चलचित्रको पूर्ण कथावस्तु र प्रस्तुतिलाई बुझेर मात्र आफ्नो धारणा व्यक्त गर्न अनुरोध गर्दछु,” उनले भनेका छन् ।

चलचित्र ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेबाट प्रदर्शनमा आउँदैछ ।