फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’, के भन्छन् निर्देशक ?

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

वर्षकै प्रतिक्षित भनेर निर्माणपक्षले दाबी गरेको सिनेमा सन्तोषजनक शोसहित आजबाट दर्शकमाझ आएको हो । “हाम्रो सिनेमाले जति शो पाएको छ, बलिउडको ठूलो सिनेमा आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ,” निर्देशक वसन्त निरौला भन्छन्, “तर, हाम्रो सिनेमा राम्रो रहेकाले दोस्रो दिनबाटै हलहरुले शो थप्दै जानेमा हामी पूर्ण रुपमा ढुक्क छौँ ।”

सिनेमाको आइडिया र ट्रिटमेन्टलाई दर्शकले मन पराउनेमा आफू निश्चिन्त रहेको उनले बताएका छन् ।

बसन्त निरौलाले निर्देशन गरेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका छ ।

यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।

‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको छ ।

यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुली सम्पादन तथा रङ्ग सम्पादन, सम्राट बस्नेत द्वन्द्व निर्देशन, गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।

चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने छन् ।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गरेको छ ।