लगातार दोस्रो पटक नेपाली बक्सअफिसमा यश र अनमोलको टकराब
काठमाडौं । नेपाली बक्सअफिसमा दक्षिण भारतीय अभिनेता यश र नेपाली अभिनेता अनमोल केसीबीच लगातार दोस्रो पटक रोचक संयोग जुरेको छ । चार वर्षको अन्तरालमा यी दुई अभिनेताका चलचित्र एकै समयमा नेपाली हलमा प्रदर्शनमा आउँदा बक्सअफिसमा उनीहरूको अप्रत्यक्ष प्रतिस्पर्धा दोहोरिएको हो ।
यसअघि वि.सं. २०७९ साल वैशाख १ गते यश अभिनीत दक्षिण भारतीय ब्लकबस्टर चलचित्र ‘केजीएफ : च्याप्टर २’ र अनमोल केसी अभिनीत नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ एकैदिन प्रदर्शनमा आएका थिए । नयाँ वर्षको अवसर पारेर रिलिज भएका यी दुई चलचित्रबीचको भिडन्त त्यतिबेला नेपाली फिल्म क्षेत्रदेखि दर्शकमाझ समेत निकै चर्चाको विषय बनेको थियो ।
त्यस समय ‘केजीएफ : च्याप्टर २’ को विश्वव्यापी क्रेज निकै उच्च थियो । यशको दमदार एक्सन र ठूलो बजेटको प्रस्तुतिका कारण चलचित्रले नेपालमा पनि व्यापकरुपमा दर्शकको ध्यान खिचेको थियो ।
अर्कोतर्फ, अनमोल केसीको स्टारडम र सुहाना थापासँगको जोडीका कारण ‘ए मेरो हजुर ४’ प्रति पनि दर्शकको आकर्षण थियो । एउटै मितिमा प्रदर्शनमा आएका यी दुई चलचित्रले नेपाली बक्सअफिसमा प्रतिस्पर्धाको फरक माहोल सिर्जना गरेका थिए ।
चार वर्षपछि फेरि यी दुई अभिनेताका चलचित्र नेपाली हलमा आमनेसामने भएका छन् । यश अभिनीत चलचित्र ‘रामायण : राइज अफ अ लेजेन्ड’ नेपालमा प्रदर्शनमा आएको एक सातापछि अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘बाटुलो जून’ हलमा प्रवेश गरेको छ । प्रदर्शन मिति भने फरक भए पनि एउटै समयमा हलमा रहेका कारण यी दुई चलचित्रबीच पुनः बक्सअफिसमा तुलना गरिएको हो ।
यसपटकको संयोग भने अघिल्लो भिडन्तभन्दा केही फरक छ । चार वर्षअघि दुवै चलचित्र एकैदिन प्रदर्शनमा आएका थिए । तर, अहिले यशको चलचित्र एक साताअघि नै प्रदर्शनमा आइसकेको छ । त्यसैले ‘बाटुलो जून’ले हलमा दर्शक तान्ने प्रतिस्पर्धा गर्दा ‘रामायण : राइज अफ अ लेजेन्ड’ उच्च अकुपेन्सी साथ नेपाली हलमा प्रदर्शनरत छ ।
अभिनेता अनमोल केसीका लागि ‘बाटुलो जून’ विशेष चलचित्र हो । ‘जेरी अन टप’पछि करिब एक वर्षको अन्तरालमा ठूलो पर्दामा फर्किएका अनमोलको यो चलचित्रलाई दर्शकले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने चासो छ । अर्कोतर्फ, यशको अन्तर्राष्ट्रिय लोकप्रियता र ‘रामायण’प्रति दर्शकको आकर्षणले पनि नेपाली बक्स अफिसमा चलचित्रको उपस्थितिलाई रोचक बनाएको छ ।
यसरी चार वर्षको अन्तरालमा दोस्रो पटक यश र अनमोलका चलचित्र नेपाली बक्स अफिसमा एकै समयमा प्रदर्शनमा आएका छन् । पहिलो पटकको भिडन्तमा ‘केजीएफ : च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ आमनेसामने भएका थिए भने यसपटक ‘रामायण : राइज अफ अ लेजेन्ड’ र ‘बाटुलो जून’ बीच अप्रत्यक्ष प्रतिस्पर्धा देखिएको छ ।


