विजय र अञ्जनाको जोडीलाई आफ्नै चुनौती
काठमाडौं । नेपाली बक्स अफिसमा ऐतिहासिक व्यापार गरेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को सफल जोडी विजय बराल र अञ्जना बराइली पुनः एकसाथ पर्दामा देखिँदै छन् । चलचित्र ‘सिन्दुरे जात्रा’मार्फत यो जोडी मंसिर १८ गतेदेखि दर्शकमाझ आउन लागेको हो ।
‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनपछि विजय र अञ्जनाले पहिलोपटक सहकार्य गरेको चलचित्र भएकाले ‘सिन्दुरे जात्रा’लाई लिएर दर्शकमाझ चासो बढेको छ ।
यो जोडी नेपाली सिनेमा उद्योगमा सर्वकालीन ब्लकबस्टर सिनेमा दिने जोडी हो । जसलाई अहिलेसम्म कुनै पनि सिनेमा र कलाकारले उछिन्न सकेको छैन ।
अझ रोचक पक्ष त के छ भने यसपटक पनि उनीहरूसँग निर्देशक सरोज पौडेल नै जोडिएका छन् । अर्थात्, दर्शकले रुचाएको कलाकारको जोडी र सफल चलचित्र दिएका निर्देशकको टिम पुनः दोहोरिएको छ ।
‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा ४६ करोड ८० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । नेपाली चलचित्रको व्यापारिक इतिहासमा विशेष स्थान बनाएको उक्त चलचित्रपछि विजय र अञ्जनाको सहकार्यलाई दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने चासो स्वाभाविक छ ।
तर, अघिल्लो चलचित्रको व्यापारिक सफलताकै आधारमा नयाँ चलचित्रको नतिजा अनुमान गर्न भने सहज छैन । ‘सिन्दुरे जात्रा’ले पुरानो सफलताको विरासतलाई निरन्तरता दिन सक्छ वा सक्दैन भन्ने जवाफ प्रदर्शनपछि दर्शकको प्रतिक्रियाले दिनेछ ।
सर्वकालीन हिट सिनेमा दिएको सर्वाधिक सफल जोडीले अब सिन्दुरे जात्रा’लाई कति सफल बनाउँछ भन्ने अहिले धेरैमा कौतुहल छ । कलाकारको उही जोडी र निर्देशक पनि उही रहेकाले यो सिनेमा पनि सफल हुन्छ भन्ने धेरैको अपेक्षा छ ।
चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन् । सारंगी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन् । अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन् ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।
मंसिर १८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन् ।




