नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र

काठमाडौं । नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र पारिएको छ ।

फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना चलचित्रकर्मी, संचारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ ।

नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवको पहिलो संस्करणमै विश्वभरबाट ५०० भन्दा बढी फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री प्राप्त भएका छन् । पहिलो संस्करणमै यति ठूलो संख्यामा अन्तर्राष्ट्रिय चलचित्र प्राप्त हुनुले महोत्सवप्रति विश्व चलचित्र क्षेत्रको चासो र आकर्षण बढ्दै गएको आयोजकको विश्वास छ ।

‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा प्राप्त चलचित्रमध्ये करिब १०० वटा उत्कृष्ट चलचित्र छनोट गरी चार दिनसम्म काठमाडौंमा प्रदर्शन गरिनेछ ।

चलचित्र छनोटका लागि निर्देशक सुवर्ण थापाको नेतृत्वमा गठित चलचित्र छनोट समितिले काम गर्नेछ । छनोट भएकामध्ये उत्कृष्ट चलचित्रहरूलाई निर्देशक अशोक शर्मा नेतृत्वका नेपाली तथा विदेशी जुरीहरूले नगद पुरस्कारसहित विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सवका निर्देशक गणेश पाण्डेले पहिलो संस्करणमै विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी चलचित्र प्राप्त हुँदा आफूहरू अत्यन्त उत्साहित भएको बताए ।