महेश र सिम्रनलाई लिएर बन्ने भयो ‘छायाँको जीत’
काठमाडौं । अभिनेता महेश त्रिपाठी र अभिनेत्री सिम्रन खड्काको मुख्य भूमिका रहने फिल्म ‘छायाँको जीत’ निर्माण हुने भएको छ । मंगलबार काठमाडौंस्थित मैतिदेवी मन्दिरमा क्यामेरा र पटकथा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो ।
भारतीय निर्देशक शिव शोहितको निर्देशनमा बन्ने फिल्म प्रेमकथामा आधारित हुनेछ । जिथ्रीएस फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा महेश र सिम्रनसँगै विजय देउजा, इच्छा सिंह, कविता आले, सुदीप पौडेल, राजु कार्की, प्रतीक चौधरी र मनोज भेटवालको अभिनय रहनेछ । त्यस्तै, बालकलाकार अनामा बम र केशव रोकाय पनि फिल्ममा देखिनेछन् ।
निर्माण पक्षले फिल्मको छायांकन आगामी मंसिर ४ गतेदेखि सुरु गर्ने तयारी गरेको छ । ३० दिनको छायांकन तालिका रहेको फिल्मका अधिकांश दृश्य काठमाडौं उपत्यकामा खिचिनेछ ।
फिल्मको कथा तथा पटकथा निर्देशक शोहितले नै लेखेका हुन् । भारतीय मनोरञ्जन क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव भएका उनले ‘मृगजा’ (२०२२), ‘तेरी लाडली मैं’ (२०२१) र ‘लाल इश्क’ (२०१८) लगायतका परियोजनामा काम गरिसकेका छन् । यसका साथै ‘क्राइम पेट्रोल डायल १००’, ‘फियर फाइल्स’ र ‘प्यार के पापड’ जस्ता टेलिभिजन धारावाहिकमा पनि उनको संलग्नता रहेको छ ।
फिल्मका निर्माता सुदीप पौडेल हुन् भने अनुप ढकालले कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन् । उत्सव दाहाल छायांकन निर्देशकका रूपमा रहनेछन् । फिल्ममा योगेश काजी र शिव शोहितको संयुक्त संगीत रहनेछ भने सम्पादनको जिम्मेवारी भूपेन्द्र अधिकारीले सम्हाल्नेछन् ।
सुजन केसी सहनिर्माता रहेको फिल्ममा ईश्वर घिमिरे निर्माण व्यवस्थापक, रोयल भीमसेन प्रचार सामग्री तथा पोस्टर डिजाइन प्रमुख र रोशन दीवाना कला निर्देशकका रूपमा आबद्ध छन् ।


