पर्दामा प्रतिस्पर्धी, पर्दापछाडि साथी !

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अनमोल केसी र पल शाहलाई फरक–फरक स्टारडम भएका दुई लोकप्रिय अभिनेताका रूपमा हेरिन्छ । दुवैका आ–आफ्नै प्रशंसक छन् । दुवैको फिल्म प्रदर्शन हुँदा उनीहरूको लोकप्रियता र दर्शक तान्ने क्षमताको तुलना पनि हुने गर्छ । त्यसैले यी दुईलाई कतिपयले एकअर्काका प्रतिस्पर्धीका रूपमा समेत हेर्ने गरेका छन् ।

तर, दर्शकले पर्दामा प्रतिस्पर्धी ठान्ने यी दुई अभिनेताबीच पर्दापछाडि कस्तो सम्बन्ध छ ? के उनीहरूबीच पनि प्रतिस्पर्धाको भावना छ ? कि एकअर्काप्रति उत्तिकै आत्मीयता छ ? यसको एउटा रोचक झलक अहिले सामाजिक सञ्जालमा देखिएको छ ।

प्रसंग हो, अनमोलको पछिल्लो फिल्म ‘बाटुलो जून’को प्रचारप्रसारको । फिल्मको प्रचारका लागि मोफसल दौडाहामा रहेको अनमोलसहितको टोली मंगलबार अभिनेता पल शाहको गृहजिल्ला दाङ पुगेको थियो । टोलीमा अनमोलसँगै अभिनेत्री प्रिन्सी खतिवडा, भुवन केसीलगायत सहभागी थिए ।

आफ्नो गृहजिल्लामा पुगेको ‘बाटुलो जून’ टिमलाई स्वागत गरिएको भिडियो पलले सामाजिक सञ्जाल फेसबुकमा सेयर गरे । भिडियोसँगै उनले लेखेका थिए, ‘अनमोल केसी, मेरो गृह जिल्ला दाङमा स्वागत छ- सुपरस्टार’

पलको यो पोस्ट सामान्य स्वागत सन्देशमै सीमित रहेन । त्यसमा अनमोलले दिएको प्रतिक्रियाले धेरैको ध्यान तान्यो । उनले पललाई सम्बोधन गर्दै लेखे, ‘धन्यवाद साथी ! अर्को पालि चाहिँ सँगै आउनुपर्छ है, दाङ घुम्न बाँकी छ।’

अनमोलको यो कमेन्टले उनीहरूबीचको सम्बन्धबारे एउटा फरक सन्देश दिएको छ । अझ रोचक कुरा त के भने, अनमोलको निम्तोलाई पलले पनि त्यसै छाडेनन् । उनले छोटो तर सकारात्मक जवाफ फर्काउँदै लेखे, ‘स्योर।’

दुई अभिनेताबीचको यो छोटो संवादले सामाजिक सञ्जालमा उनीहरूको मित्रताको चर्चा सुरु भएको छ । पर्दामा एकअर्कासँग प्रतिस्पर्धा गरिरहेको जस्तो देखिने यी दुई कलाकारबीच वास्तविक जीवनमा भने आत्मीय सम्बन्ध रहेको संकेत यसले गरेको छ ।

अनमोलको ‘अर्को पालि सँगै आउनुपर्छ’ भन्ने प्रस्तावले अर्को सम्भावनातर्फ पनि दर्शकको ध्यान खिचेको छ । के अब अनमोल र पल साँच्चै एकसाथ दाङ घुम्न पुग्लान् ? अथवा, दर्शकले यी दुई स्टारलाई कुनै दिन एउटै फिल्ममा पनि देख्न पाउलान् ?

पल र अनमोललाई एउटै पर्दामा हेर्ने चाहना राख्ने दर्शकका लागि यो सम्भावना आफैँमा रोचक हुन सक्छ । यद्यपि, उनीहरूलाई एउटै फिल्ममा प्रस्तुत गर्ने कुनै निर्माता/निर्देशकले योजना भने सार्वजनिक गर्न सकेका छैनन् ।