सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ आजदेखि नेपाल र भारतमा

काठमाडौं । दिवंगत अभिनेता सुनिल थापाले अभिनय गरेको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ आज शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । थापाको अन्तिम अभिनय रहेको चलचित्र भएकाले पनि यसले नेपाली दर्शकमाझ विशेष चासो पाउने अपेक्षा गरिएको छ ।

धीराज राजवंशीको डेब्यू निर्देशकीय चलचित्र ‘हिमालयन गोल्ड’ थ्रिलर तथा ड्रामा जनरामा निर्माण भएको हो । चलचित्रले हिमाली भूगोलमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा र त्यसको लोभमा जन्मिने द्वन्द्व, संघर्ष तथा मानवीय स्वार्थको कथा प्रस्तुत गर्छ ।

सन् १९९० को परिवेशमा आधारित चलचित्रमा यार्सागुम्बा संकलनका क्रममा हुने लुटपाट, असुरक्षा र त्यसले निम्त्याउने घटनालाई पर्दामा उतारिएको छ । परिवार र आफ्नो मेहनतले संकलन गरेको यार्सागुम्बा जोगाउन एक युवतीले निर्दयी समूहसँग गर्ने संघर्ष चलचित्रको मुख्य कथावस्तु हो । अस्तित्वको लडाइँ, प्रतिशोध र साहसलाई समेत कथामा समेटिएको छ ।

प्रदर्शनअघि नै चलचित्रले नेपाल र भारतमा फरक उमेर समूहका दर्शकका लागि प्रदर्शन अनुमति पाएको छ । नेपालमा चलचित्रले एडल्ट (ए) सर्टिफिकेट पाएको छ भने भारतमा यूए १६ प्लस सर्टिफिकेट प्राप्त गरेको छ ।

यो चलचित्र नेपालमा १६ वर्ष पूरा भएका दर्शकले मात्र चलचित्र हेर्न पाउँछन् । १६ वर्षमुनिका बालबालिकाले अभिभावकसँग आए पनि हेर्न पाउँदैनन् । भारतमा १६ वर्ष वा सोभन्दा माथिका दर्शकले हेर्न पाउँछन् । १६ वर्षमुनिका बालबालिकाले भने अभिभावकको मार्गदर्शनमा हेर्न सक्छन् ।

चलचित्रमा सुनिल थापासँगै कर्मा शाक्य, परीक्षा लिम्बु, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायत कलाकारको अभिनय छ ।

समुद्री सतहबाट करिब ४ हजार ८०० मिटरको उचाइमा छायांकन गरिएको चलचित्रमा रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदायको यार्सागुम्बासँग जोडिएको जीवनशैली र आर्थिक निर्भरतालाई पनि चित्रण गरिएको छ ।

बुधबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा आयोजित प्रिमियरमा सहभागी सेलिब्रेटीले चलचित्रको कथावस्तु, हिमाली दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका थिए ।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रको कथा तथा निर्देशन धीराज राजवंशीको हो । पटकथा दीपेन्द्र गौचन र राजवंशीले लेखेका हुन् । मीनबहादुर भाम निर्माता, सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता छन् ।

भारतमा प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले चलचित्र वितरण गरेको छ । नेपालमा एप्पल इन्टरटेनमेन्ट, जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट र मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरणको जिम्मेवारी लिएका छन् ।