५० लाख पनि पुगेन ‘पाँच पाण्डव’को कमाइ, पछिल्लो साता ५ सय ९६ जनाले हेरे
काठमाडौं । कात्तिक २० गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पाँच पाण्डव’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको छैन ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार फिल्मले पछिल्लो साता ४५ लाख २२ हजार ३८८ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा १२ हजार ८९० वटा टिकट बिक्री भएका छन्।
यसअघि सार्वजनिक पहिलो १० दिनको विवरणमा फिल्मको कमाइ ४३ लाख ५० हजार ४९३ रुपैयाँ थियो । पछिल्लो साता थप १ लाख ७१ हजार ८९५ व्यापार गरेको छ । त्यसैगरी, टिकट बिक्री पनि १२ हजार २९४ बाट बढेर १२ हजार ८९० पुगेको छ । अर्थात् अघिल्लो विवरणको तुलनामा ५९६ वटा बढी टिकट बिक्री भएको देखिन्छ ।
वसन्त निरौला निर्देशित फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, ईभा गिरी, दीपाश्री निरौला, विनोद न्यौपाने र सरिता गिरीलगायत कलाकारको अभिनय छ ।
काली रानी श्रेष्ठ निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् ।





