‘कबड्डी ५’को व्यापारमा सुस्तता, १३ करोड नाघ्यो ग्रस कलेक्सन
काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को कुल ग्रस कमाइ १३ करोड रुपैयाँ नाघेको छ । प्रदर्शनको सातौँ सातासम्म आइपुग्दा चलचित्रको व्यापारिक गति भने निकै सुस्त बनेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो बक्स अफिस विवरणअनुसार चलचित्रले हालसम्म १३ करोड २६ हजार ९ सय ६७ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा ४ लाख २४ हजार ८ सय ९२ वटा टिकट बिक्री भएका छन् ।
यसअघि सार्वजनिक विवरणमा चलचित्रको कुल कमाइ १२ करोड ९४ लाख १५ हजार ४ सय ३७ रुपैयाँ थियो । उक्त अवधिमा ४ लाख २२ हजार ८ सय ९० टिकट बिक्री भएका थिए । पछिल्लो विवरणसँग तुलना गर्दा एक सातामा चलचित्रले करिब ६ लाख ११ हजार रुपैयाँ मात्र थपेको देखिन्छ ।
कमाइको गति घटे पनि कुल व्यापारका आधारमा ‘कबड्डी ५’ यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको सूचीमा दोस्रो स्थानमा छ ।
चलचित्रमा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ र मिरुना मगरलगायत कलाकारको अभिनय छ ।




