दसैंका तीन चलचित्रमध्ये ‘आ बाट आमा २’ सबैभन्दा अगाडि, ‘पेन्सन पट्टा’ र ‘बाः एक योद्धा’को कमाइ कति ?

काठमाडौं । प्रदर्शनको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि ‘आ बाट आमा २’को बक्स अफिस यात्रा रोकिएको छैन । दसैंको अवसरमा प्रदर्शनमा आएका तीन चलचित्रमध्ये व्यापारमा अग्रस्थान बनाएको यो चलचित्रले ७ करोड रुपैयाँको आँकडा पार गरेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार असोज ३० गतेदेखि प्रदर्शनमा रहेको ‘आ बाट आमा २’ले मंसिर ६ गतेसम्म ७ करोड १८ हजार ८०२ रुपैयाँ ग्रस कमाइ गरेको छ । यससँगै चलचित्रले दसैंमा रिलिज भएका सिनेमामध्ये आफ्नो पकड सबैभन्दा बलियो बनाएको छ ।

दुई चलचित्र ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’को पछिल्लो व्यापार विवरण भने बोर्डले यसपटक सार्वजनिक गरेको छैन । बोर्डको कात्तिक २९ गतेसम्मको तथ्यांकअनुसार ‘छ माया छपक्कै २’ले ३ करोड ४३ लाख १७ हजार ४५ रुपैयाँ र ‘१२ गाउँ २’ले २ करोड ३२ लाख ९६ हजार ३७१ रुपैयाँ ग्रस कमाएका थिए । यी दुवै चलचित्र अहिले प्रदर्शनरत छैनन् ।

यस वर्षको बक्स अफिस प्रतिस्पर्धामा भने ‘पेन्सन पट्टा’ले तेस्रो स्थान कायम राखेको छ । बोर्डका अनुसार चलचित्रले ३ लाख ६४ हजार ८०८ टिकट बिक्रीबाट १० करोड ३६ लाख ८३ हजार ३८ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

त्यस्तै, असोज ९ गतेदेखि प्रदर्शनमा आएको ‘बाः एक योद्धा’ले पनि ३ करोड ५७ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ । चलचित्रको कुल कमाइ ३ करोड ५७ लाख ६९ हजार ४४१ रुपैयाँ पुगेको छ भने १ लाख २८ हजार २७५ टिकट बिक्री भएका छन् ।