‘रामायण’ बन्यो नेपालमा सर्वाधिक कमाउने विदेशी चलचित्र, तोड्यो ‘पुष्पा २’को रेकर्ड
काठमाडौं । भारतीय चलचित्र ‘रामायण’ले नेपालमा बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ । यो चलचित्र नेपालमा सर्वाधिक कमाउने विदेशी सिनेमा बनेको हो ।
यसअघि यो कीर्तिमान अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २ : द रूल’को नाममा थियो । नेपालमा २६ करोड ४६ लाख रुपैयाँ ग्रस कमाइ गरेको ‘पुष्पा २’लाई उछिन्दै ‘रामायण’ले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपालका लागि फिल्मको वितरण अधिकार लिएको एप्पल इन्टरटेन्मेन्टका अनुसार ‘रामायण’ले सोमबार रातिसम्म २६ करोड ५० लाख रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ । वितरक कम्पनीकी कार्यकारी निर्देशक विपश्यना श्रेष्ठले उक्त आँकडा सोमबार नै पार भएको पुष्टि गरेकी छन् ।
यो सफलतासँगै ‘रामायण’ले नेपाली बजारमा ‘बाहुबली २’र ‘केजीएफ च्याप्टर २’ जस्ता चर्चित भारतीय फिल्मलाई समेत पछाडि छोडेको छ । नेपालमा ‘बाहुबली २’ले २३ करोड कलेक्सन गरेको थियो । ‘केजीएफ २’ले १९ करोड ८० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।
अब नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको सूचीमा ‘रामायण’ शीर्ष स्थानमा पुगेको छ भने ‘पुष्पा २’ दोस्रो स्थानमा झरेको छ ।
नितेश तिवारीको निर्देशन रहेको ‘रामायण’मा रणवीर कपूरले राम, यशले रावण, साई पल्लवीले सीता, सनी देओलले हनुमान र रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन् ।
प्रदर्शनको १९औँ दिनसम्म आइपुग्दा फिल्मले विश्वव्यापी रूपमा १ हजार ७ सय करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । यससँगै‘पुष्पा : द रुल’को लाइफटाइम कलेक्सनलाई समेत पछि पारेको छ ।




