चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन २३ देखि, वैशाखमा अवार्ड समारोह

काठमाडौं । कर्णालीको पर्यटन प्रवर्द्धन र नेपाली चलचित्रलाई नयाँ गन्तव्यसँग जोड्ने उद्देश्यसहित आयोजना हुँदै आएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) को चौथो संस्करणको मिति घोषणा गरिएको छ। महोत्सव आगामी २०८३ फागुन २३ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको कार्यक्रमअनुसार दैलेखको गुराँसमा हुने गुराँस पर्यटन महोत्सवसँगै किफको औपचारिक सुरुवात हुनेछ। त्यसको भोलिपल्ट अर्थात् फागुन २४ गते सुर्खेतस्थित होटल शुभमा पर्यटन तथा चलचित्र संवाद र विशेष चलचित्र प्रदर्शन आयोजना गरिनेछ। सोही अवसरमा ‘कर्णाली हेरौँ, कर्णाली घुमौँ’ शीर्षकको भिडियो प्रतियोगिता पनि सञ्चालन हुनेछ।

महोत्सवअन्तर्गतको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र अवार्ड समारोह भने २०८४ वैशाख ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुनेछ। यसका अतिरिक्त सन् २०२७ को मे महिनामा भारतको सिक्किम र सिलिगुडीमा नेपाल–भारत पर्यटन तथा चलचित्र सहकार्य संवाद गर्ने तयारीसमेत आयोजकले गरेको छ।

कर्णालीलाई चलचित्र छायांकनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नु महोत्सवको मुख्य ध्येय रहेको निर्देशक चक्रबहादुर चन्दले बताए। उनका अनुसार प्राकृतिक सौन्दर्य, धार्मिक तथा पर्यटकीय स्थल र मौलिक संस्कृति हुँदाहुँदै पनि कर्णालीमा चलचित्र तथा पर्यटनसम्बन्धी गतिविधि अपेक्षाकृत न्यून छन्। यस क्षेत्रका कथा, भाषा, रहनसहन, कला र परम्परालाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियान महोत्सवले अघि बढाएको हो।

‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने नारासहित ‘गन्तव्य कर्णाली’ अभियानलाई समेत महोत्सवले प्राथमिकता दिँदै आएको छ। कर्णालीका सम्भावित छायांकन स्थललाई देश तथा विदेशका निर्माता–निर्देशकसम्म पुर्‍याउने, स्थानीय कलाकार र चलचित्रकर्मीलाई अवसर तथा पहिचान दिलाउने र गाउँगाउँमा नेपाली चलचित्र प्रदर्शन गर्ने योजना आयोजकको छ।

त्यस्तै, चलचित्र साक्षरता अभियान सञ्चालन गर्ने, चलचित्र क्षेत्रका समस्या र सम्भावनाबारे बहस गर्ने तथा पर्यटन र जलवायु परिवर्तनको विषय उठान गर्ने चलचित्रलाई विशेष सम्मान र प्रोत्साहन गर्ने कार्यक्रम पनि महोत्सवमा समेटिनेछ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, निर्माता तथा निर्देशक दीपकराज गिरी, आकाश अधिकारी, रेखा थापा, सन्तोष सेन, अभिनेता प्रदीप खड्का, निर्माता प्रेम पुरी, लेखक–निर्देशक रामशरण पाठक र कलाकार हिमेश पन्तलगायतको उपस्थिति थियो।

कार्यक्रममा महोत्सवका सद्भावना दूत प्रदीप खड्काले चलचित्र र पर्यटनलाई एकसाथ अघि बढाउन किफले महत्वपूर्ण भूमिका खेलिरहेको बताए। जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याउने महोत्सवको प्रयास आगामी दिनमा अझ प्रभावकारी हुने उनको विश्वास थियो।

त्यस्तै, अभिनेता तथा निर्देशक दीपकराज गिरीले कर्णालीको प्राकृतिक र सांस्कृतिक विविधताले आफूलाई आकर्षित गर्दै आएको बताए। काठमाडौंलाई आफ्नो जन्मथलो बताउँदै उनले आगामी दिनमा कर्णालीलाई चलचित्र छायांकनको गन्तव्य बनाउन सकिने सम्भावनासमेत औँल्याए।