क्यामेरा पूजासँगै फ्लोरमा उत्रियो पूजा र अशोकको ‘सेतो कोट’

काठमाडौं । अभिनेत्री पूजा शर्मा अभिनीत चलचित्र ‘सेतो कोट’को छायांकन सुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा क्यामेरा पूजा गर्दै निर्माण टिमले फिल्मको छायांकन थालेको हो । पूजाको पहिलो दृश्य खिचेसँगै फिल्मको सुटिङ औपचारिक रूपमा अघि बढाइएको छ ।

शिवम अधिकारीको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्मको छायांकन काठमाडौं र मकवानपुरका विभिन्न स्थानमा गरिनेछ । निर्माण पक्षका अनुसार पुसको पहिलो सातासम्ममा छायांकन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

मिनु शर्मा प्रोडक्सनको प्रस्तुतिमा बन्ने फिल्ममा पूजा शर्मासहित नीर शाह, अशोक दर्जी, सुमित्रा दाहाल, पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, सुप्रिया शर्मा, फलित राई, सुरेश थापा मगर, सरिता अधिकारी र शङ्कर श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ ।

फिल्ममा मिनु शर्मा ‘सपना’ र सन्देश थापा ‘काजी’ निर्माता रहेका छन् भने फणीन्द्र तामाङले कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन् ।

चलचित्रको छायांकन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ । फिल्ममा स्टिभ सङ्करको सङ्गीत रहनेछ । त्यस्तै, हेड अफ प्रोडक्सनमा अरुण रेग्मी, मुख्य सहायक निर्देशकमा नवराज शर्मा, बजार व्यवस्थापनमा भावेश ढकाल, प्रचार सामग्रीमा सञ्जीव खड्की र कला निर्देशनमा डुक्राज रहेका छन् ।

यसैगरी स्वस्तिकाले शृङ्गार, कुमार शाहले भान्सा व्यवस्थापन र रविले पोसाकको जिम्मेवारी सम्हाल्नेछन् । दीप्त प्रकाश अधिकारी मुख्य सहायक निर्देशनमा रहनेछन् भने विनिशा सेवा सहनिर्देशकका रूपमा जोडिएकी छन् ।