फ्राईडे रिलिज : हलमा निरुता-उत्तमको ‘सारथी’ र मल्टिस्टारर ‘ककाकिकी’ भिड्दै
काठमाडौं । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । निरुता सिंह र उत्तम प्रधानको पुनर्मिलन रहेको ‘सारथी’ र मल्टिस्टारर कमेडी चलचित्र ‘ककाकिकी’ आज (शुक्रबार)देखि एकसाथ प्रदर्शनमा आएका हुन् ।
दुवै चलचित्रले एकै मितिमा प्रदर्शन थाल्दा दर्शक तान्ने प्रतिस्पर्धासँगै हलमा शो पाउने विषय पनि चासोको केन्द्रमा छ । तर, नयाँ चलचित्रका रूपमा रिलिज भए पनि दुवैले देशभरका सबै हलमा स्थान बनाउन सकेका छैनन् । अघिल्ला सातादेखि प्रदर्शनरत ‘बाटुलो जून’, ‘कबड्डी ५’ लगायतका फिल्मले अझै हलमा आफ्नो उपस्थिति कायम राखेका छन् । यसले नयाँ चलचित्रका लागि उपलब्ध शो संख्यामा प्रभाव पारेको देखिन्छ ।
शोको उपलब्ध विवरणअनुसार ‘सारथी’ले ५० भन्दा बढी शो पाउँदा ‘ककाकिकी’ले ८४ शो पाएको छ ।
‘सारथी’लाई कुमार गजुरेलले निर्देशन गरेका हुन् । लामो समयपछि निरुता सिंह र उत्तम प्रधानलाई एकसाथ पर्दामा हेर्न पाउनु यसको मुख्य आकर्षण हो । ‘दर्पणछाया’बाट दर्शकमाझ लोकप्रिय बनेको यो जोडीको पुनर्मिलनले पुराना पुस्ताका दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।
म्याग्दीको विकट गुर्जा गाउँको परिवेशमा बनेको फिल्मले स्थानीय जीवनशैली, सम्बन्ध र मानवीय संवेदनाको कथा प्रस्तुत गर्छ ।
अर्कोतर्फ, बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको ‘ककाकिकी’ कमेडी कथामा आधारित छ । चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङलगायत कलाकारको अभिनय छ । कलाकारको ठूलो समूह र कमेडी विधा यसको अर्को आकर्षण हो ।
दुई चलचित्रको विषयवस्तु र प्रस्तुतिको शैली फरक भए पनि यसपटकको प्रतिस्पर्धा हलमा पाएको शो र दर्शकको प्रतिक्रियाले निर्धारण गर्नेछ ।





