सुन्दा अनौठो सुनिएको मात्रै हो, वास्तविकता यही नै हो
काठमाडौं । चलचित्र ‘कबड्डी ५ : फाइनल म्याच’को प्रचारप्रसार भइरहेको थियो । कलाकार र यसका निर्देशक तथा निर्माता पत्रकार सम्मेलन गरिरहेका थिए ।
यसैक्रममा ‘कबड्डी ५ : फाइनल म्याच’का निर्देशक रामबाबु गुरुङले भने– मैले यो सिनेमा पैसाकै लागि बनाएको हो । पैसा कमाउन कै लागि बनाएको हो । दाल भात खानकै लागि बनाएको हो ।
यस्तै चलचित्र ‘महापुरुष’को पत्रकार भेटघाट कार्यक्रम थियो । कलाकार, निर्देशक र निर्माता पत्रकार सम्मेलनमा उपस्थित थिए । निर्देशक प्रदीप भट्टराईले भने– बुढीले बैंकको खातामा पैसा सकिन लाग्यो, के गर्ने हो अब भनेपछि यो चलचित्र बनाएको हुँ ।
यी निर्देशकद्वयले जे भने, सही भने । किनकि सिनेमा आर्ट हो, यो कला हो, यसमा व्यापार हुँदैन भनेर अहिलेको समयमा कसैले भन्छ भने त्यो ढोंगीपन हो । जसजसले अहिले सिनेमा बनाउँछ त्यो व्यापारकै लागि बनाउँछ, पैसा कमाउनका लागि बनाउँछ ।
फरक यति हो, कसैले सिधै पैसा कमाउन सिनेमा बनाएको हुँ भन्छ, कसैले भन्दैन । तर, उद्देश्य सबैको पैसा कमाउने नै हो ।
पक्कै पनि सिनेमा आर्ट हो । यही आर्टभित्र बिजनेस खोज्ने हो । नेपाल मात्रै होइन, संसारभर नै यही ट्रेन्ड हो । त्यसैले कसैले सिनेमा बनाउँछ भने त्यो पैसा कमाउन नै हो । लजाइरहनु पर्ने विषय यसमा केही पनि छैन ।
बरु, यसमा आर्ट फर्मभित्र बसेर म बिजनेस गरिरहेको छु । तर, आर्टलाई पनि जोगाउँदै कसरी बिजनेस गर्ने भन्ने विषयमा म गम्भीर छु भनेर भन्नु चाहिँ इमानदारिता हो ।
सुन्दा मात्रै हो, दातभात खान सिनेमा बनाउँछु भन्दा अफ्ठ्यारो सुनिने, पैसा कमाउन सिनेमा बनाएको हो भनेर भन्दा अड सुनिने । तर, वास्तविकता यही नै हो ।
बरु कथा भन्न मन लागेर सिनेमा बनाएको हुँ, कला, संस्कृति जोगाउन सिनेमा बनाएको हुँ भन्नु चाहिँ ढोङ हो । तर, पनि प्रायः सबैले यही भन्छन् । र, यही नै सही हो जस्तै भइसकेको छ ।
तर, रामबाबु गुरुङ र प्रदीप भट्टराईमा जुन आत्मविश्वास देखिन्छ, त्यो भने महत्वपूर्ण पक्ष हो । मेरो सिनेमाले ‘सियोरसट’ पैसा कमाउँछ भन्ने उच्च आत्मविश्वास हुनु चाहिँ महत्वपूर्ण पक्ष हो ।
प्रदीप भट्टराईले बैंक खाता रित्तियो त्यसैले ‘महापुरुष’ बनाएँ भने, भनेजस्तै भयो सिनेमाले पैसा कमायो ।
रामबाबु गुरुङले पनि ‘कबड्डी ५’ बनाउँदा त्यसै भने, सिनेमाले पैसा गज्जबले कमायो । सुन्दा ठाडो सुनिए पनि उनीहरूमा जुन तहको आत्मविश्वास देखिन्छ, त्यो भने साँच्चै अरुले पनि सिक्नुपर्ने विषय हो ।





