लमजुङबाट सुरु भयो ‘लुसु’को छायांकन, को-को छन् कलाकार ?
काठमाडौं । नवराज श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘लुसु’को छायांकन सुरु भएको छ । जातीय विभेदका कारण प्रेम सम्बन्धमा आइपर्ने सामाजिक अवरोध र त्यसले निम्त्याउने संघर्षलाई पर्दामा उतार्ने तयारीसहित निर्माण हुन लागेको चलचित्रको छायांकन लमजुङबाट थालिएको हो ।
चलचित्रको छायांकन लमजुङका विभिन्न स्थानमा गरिने जनाइएको छ ।
साहित्यकार पदम विश्वकर्माको कथामा आधारित चलचित्रले प्रेममा जातीय विभेदले सिर्जना गर्ने जटिलता र त्यसको प्रभावले व्यक्तिको जीवनमा ल्याउने उतारचढावलाई केन्द्रमा राखेको छ । निर्देशन श्रेष्ठ यही चलचित्र निर्देशनकै लागि अमेरिकाबाट नेपाल आएका हुन् ।
निर्माता शेखर लामाका अनुसार ‘लुसु’ले जातीय पहिचानकै आधारमा प्रेम सम्बन्धमा खडा हुने पर्खाल र त्यसलाई पार गर्न प्रेमी–प्रेमिकाले गर्नुपर्ने संघर्षलाई मुख्य रूपमा उठाउनेछ । सामाजिक मुद्दालाई मनोरञ्जनात्मक प्रस्तुतिसँग जोडेर दर्शकमाझ पुर्याउने निर्माण पक्षको योजना छ ।
चलचित्रमा मन्जिल कुमार, आश्विनी शाही, कमलमणि नेपाल, रविन्द्र खड्का, रेजिना उप्रेती, तलिसा गुरुङ र जुनु रिमाललगायत कलाकारको अभिनय रहनेछ ।
चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र बसन्त न्यौपानेले तयार पारेका हुन् ।





