पारिश्रमिक फगत एउटा समाचार हो, दर्शक हलमा तान्ने हतियार हुन सक्दैन

काठमाडौं । गतसाता एउटा चलचित्रको पोस्टर सार्वजनिक भयो । पोस्टर सार्वजनिक भएपछि पोस्टरभन्दा त्यसका एक प्रमुख कलाकारले पाएको भनौँ या निर्माताले मैले दिएँ भनेको पारिश्रमिकको कुराले ठूलो चर्चा पायो ।
कार्यक्रममा ती कलाकारको पारिश्रमिकको अंक सुनेर उपस्थित अन्य कलाकारको अनुहारको हाउभाउ हेर्न लायक थियो ।
यो त एउटा उदाहरणमात्र हो । पछिल्लो समय को भन्दा को महँगो हो भनेर देखाउने होडबाजीमात्र होइन नेपाली सिने नगरीमा थुप्रै हुन नपर्ने र गर्न नहुने कुराहरु चलिरहेका छन् ।
यसमा सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने यस्ता चर्चाले फेरि सम्बन्धित फिल्मको प्रचारमा कुनै बल पुगेको देखिँदैन । महँगोमा फिल्म खेलाएकै कुराले प्रचार पुगेर दर्शक फिल्म हेर्न हलमा ओइरिने भए एउटालाई किन फिल्मभरीकै सबै कलाकारलाई धेरैधेरै पारिश्रमिक दिए भइगयो ।
फिल्म बम्पर भइहाल्छ, नत्र भने किन महँगो पारिश्रमिक दिएको हो भन्ने सस्तो प्रचार गर्नु ?
नेपाली सिनेमा सुरुदेखि नै यस्तै सस्ता र कम असरदार फण्डामा रमाउँदै आएको छ । कहिले डबल रोल खेलेको पहिलोपटक त कहिले चितुवासँग भिडेको त कहिले के भन्ने प्रकारका हल्लामा फिल्म चलाउने धृष्टता हुँदै आएको छ ।
हुनुपर्ने व्यवस्थित प्रचार शैली हो तर यस्तो हुन सकेको छैन । नयाँ सूचनाप्रविधिको युगमा दर्शकको बदलिँदो मनस्थितिले फरक प्रचार र माध्यम मागिरहेको छ । तर, त्यसमा कसैको ध्यान छैन ।
फिल्म रिलिजका बेला प्रचारमा हिँडेको देखिन्छ तर त्यहाँ फिल्मको कम अन्य सस्ता कुराको वरिपरि कुराकानी केन्द्रित हुन्छ । मेकर र कलाकार फेरि यस्तै कुरामा रमाइरहेको देखिन्छ ।
आज नेपाली सिनेमा भगवान भरोसा शैलीमा चलेको छ । कुनै एउटा सिनेमा चल्यो भने लगातार उस्तै सिनेमाको बाढी लाग्छ । एउटा कलाकार चले सबै त्यस्तै सिनेकामाको पछि लाग्छन् । सानै भूमिका भए पनि ठूलो तस्बिर हाल्दिन्छन् । एउटा दुईटा फिल्म नचले फेरि दर्शक भड्किन्छन्, त्यो कलाकार किन भन्छन् ।
नवीन कुरा खोज्ने, बनाउने कुरामा ध्यान छैन । एउटा फिल्म चले सिक्वलको बाढी लाग्छ ।
यस्ता कुराको फाइदा क्षणिक हुन्छ, अन्ततः यसले गर्ने हानी नै हो । विगतमा पनि यही प्रवृत्तिले नेपाली सिनेमा उद्योग पछि परेको हो । चलचित्रभन्दा अन्य सस्ता खपतका कुरा बेच्ने प्रवृत्ति फेरि देखा परेको छ ।
केही समय अगाडि एकजना कलाकार भन्दै थिए, नेपाली जनाताले सबै कुरा छान्न सके तर नेता राम्रो छान्न सकेनन् । तर, उनी स्वयंले अभिनय गरेका सिनेमामा उनी एउटाबाट अर्को सिनेमामा फोटोकपीमाथि फोटोकपी बनेर देखापरिरहेका छन् । उनका पात्रमा कुनै परक देखिँदैन ।
उता, निर्माताहरू फिल्म बनाउँदा आफूले के बनाइरहेको छु, के बन्दैछ भनेर पत्तो नपाउने तर रिलिज भएपछि हलमा रातो नदेखेर छटपटीमा पर्ने । लाखौँका टिकट आफैँ किनेर आत्मरतिमा रमाउन फेसबुकमा पोस्ट गर्ने र किनिएका दर्शकबाट भक्ति गान गाउने चलन अब पुरानो भइसक्यो ।
लेखनमा बहस छैन । लगानी अनावश्यक ठाउँमा छ । मेकिङमा पर्याप्त लगानी छैन । अनि कसरी अगाडि बढ्छ नेपाली सिनेमा उद्योग ?