छायांकनका क्रममा अभिनेता सोनम तोप्देनको बायाँ खुट्टा भाँचियो

काठमाडौं । चलचित्र ‘ऐरी’ को एक एक्सन दृश्य खिच्ने क्रममा अभिनेता सोनम तोप्देन घाइते भएका छन् ।
बागलुङको ढोरपाटन क्षेत्रमा विगत एक महिनादेखि छायांकन भइरहेको चलचित्रको एक्सन सीनका क्रममा उनको बायाँ खुट्टा भाँचिएको हो । अभिनेता सोनमले नै सामाजिक सञ्जालमार्फत् आफ्नो अवस्थाको जानकारी दिएका छन् ।
फेसबुक स्टोरीमा खुट्टाको एक्स–रे तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, “सेटमा एक्सनको दृश्य खिच्दाखेरि मेरो बायाँ खुट्टा भाँचिएको छ । सायद यो मेरो जीवनको सबैभन्दा दर्दनाक क्षण हो । अहिले प्रार्थना र धैर्यका साथ विस्तारै ठीक हुँदैछु ।”
बुझिए अनुसार चलचित्रका अर्का मुख्य अभिनेता प्रदीप खड्काले रुखबाट हामफालेर किक हान्नुपर्ने दृश्य खिच्ने क्रममा उनको खुट्टा सीधै सोनमको खुट्टामा ठोकिएको थियो । यही घटनाले दुर्घटना निम्त्याएको हो ।
सोनमलाई हेलिकोप्टरमार्फत ढोरपाटनबाट पोखराको नागढुङ्गास्थित चरक मेमोरियल अस्पताल ल्याइएको छ, जहाँ उनी एक सातादेखि उपचाररत छन् ।
चिकित्सकहरूले कम्तीमा ६ महिनासम्म छायांकनमा फर्किन नसक्ने बताएका छन् । यसले गर्दा ‘ऐरी’मा उनको भागको छायांकन अनिश्चित बनेको छ ।
यसैबीच, सोनमले आगामी भदौबाट चलचित्र ‘जलाकी’को छायांकन थाल्ने तयारी गरिरहेका थिए । तर खुट्टा भाँचिएपछि उक्त प्रोजेक्ट पनि अब केही महिना पछाडि सर्ने निश्चित भएको छ ।
सोनम तोप्देनले ‘सम्हालिन्छ कहिले मन’ बाट नेपाली चलचित्रमा डेब्यु गरेका थिए । पछिल्लो वर्ष सार्वजनिक भएको चलचित्र ‘शाम्बाला’ बाट उनको अभिनयले निकै प्रशंसा पाएको थियो । त्यसयता उनी व्यस्त कलाकारका रूपमा उभिएका छन् ।
जीवन थापाको निर्देशनमा निर्माण भइरहेको ‘ऐरी’ मा अभिनेता धिरज मगरको पनि अभिनय रहनेछ । चलचित्रको छायांकन बागलुङको विकट क्षेत्र ढोरपाटनमा भइरहेको छ ।