सेलेब्रेटीविरुद्धको दुर्व्यवहार: सामाजिक सञ्जालमै प्रतिकार गर्ने नयाँ प्रवृत्ति

काठमाडौं । सामाजिक सञ्जालमा सेलेब्रेटीहरूलाई सिधासिधी अभद्र टिप्पणी र गालीगलौजको प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ ।
पछिल्लो समय केही सेलेब्रेटीहरुका अधिकांश सामाजिक सञ्जाल पोस्टमा अभद्र शब्द प्रयोग गरेर गाली गरिरहेका देख्न सकिन्छ । यस्ता अभिव्यक्तिहरूले सम्बन्धित व्यक्तिको आत्मसम्मानमा गहिरो चोट पुर्याउने गरेका छन् । गाली गलौज गहिरँदा कोही मौन बस्छन् भने केही सेलेब्रेटीहरूले यस्तो दुर्व्यवहारको प्रतिकार गर्न थालेका छन् । सार्वजनिक रूपमा सामाजिक सञ्जालबाटै प्रतिकार गर्नेक्रम बढ्दै गएको छ ।
बिनाकारण र सरोकारबिनाका विषयमा हुने दुर्व्यवहारले आत्मसम्मानमा गम्भीर असर पुर्याइरहेका बेला अब उनीहरू चुप बस्न छाडेका हुन् । पछिल्लो समय यस्ता दुर्व्यवहारको प्रतिवाद स्वरूप सेलेब्रेटीहरू स्वयंले अभद्र टिप्पणी गर्ने व्यक्तिहरूको नाम र प्रमाणसहित सामाजिक सञ्जालमै सार्वजनिक गर्न थालेका छन् ।
गायिका एलिना चौहान यस प्रवृत्तिको पछिल्लो उदाहरण बनेकी छन् । बुधबार दिउँसो उनले एक फेसबुक प्रयोगकर्ताको गालीगलौजसहितको कमेन्टसहित प्रोफाइल लिंक सार्वजनिक गर्दै प्रतिकार गरिन् । उक्त प्रयोगकर्ताले चौहानले गायिका समीक्षा अधिकारीसँग बनाएको “बालै फरर” गीतको भिडिओमा अत्यन्तै आपत्तिजनक शब्द प्रयोग गर्दै कमेन्ट गरेका थिए ।
त्यसपछि, एलिनाले गालीको जवाफस्वरूप सामाजिक सञ्जालमै “अब पालैपालो पोस्ट गर्छु” भनिन् । उनले स्पष्ट संकेत गरेकी छन् कि, अब यस्ता दुर्व्यवहार सहन सकिन्न, प्रतिकार गरिन्छ । केही बेरपछि उनले अर्को प्रयोगकर्ताको अपमानजनक कमेन्टसहितको प्रोफाइल पनि सार्वजनिक गरिन् । उनी भिडियोमा आएर नै अब गाली गर्ने कसैलाई नछोड्ने र कानुनी उपचार खोज्ने बताइन् ।
चौहानका अनुसार लगातार बढ्दै गएका दुर्व्यवहारका कारण अब चुप लागेर सहन नसकिने अवस्था आएको हो । त्यसैदिन साँझ उनले एक प्रयोगकर्ताले भ्वाइस रेकर्डमार्फत माफी मागेको भिडिओसमेत सेयर गरेकी छन् । यद्यपि, माफी माग्ने प्रयोगकर्ताको परिचय भने खुलाएकी छैनन् ।
एलिना चौहान मात्र होइनन्, गायिका समीक्षा अधिकारी, अभिनेत्री सुरक्षा पन्त, ऋचा शर्मा र टिकटकर प्रिज्मा खतिवडाजस्ता कलाकारहरूले पनि पछिल्ला महिनाहरूमा सामाजिक सञ्जालमै आफ्नो विरोध जनाउँदै आपत्तिजनक कमेन्ट गर्नेहरूलाई उजागर गर्दै आएका छन् ।
समीक्षाले केही दिनअघि आफ्नो विरोधमा लेखिएको अभद्र कमेन्ट सार्वजनिक गरेकी थिइन् । त्यसपछि ती व्यक्तिले माफी मागेपछि समीक्षाले माफ गरिएको स्क्रिनसट सेयर गर्दै विषय टुंग्याएकी थिइन् ।
अभिनेत्री सुरक्षा पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रबारे दिएको अभिव्यक्तिका कारण आलोचना खेप्नुपरेको थियो । हृदयेन्द्रबारे टिप्पणी गरेपछि उनीविरुद्ध सामाजिक सञ्जालमा ‘बहिष्कार अभियान’ नै सुरु भएको थियो । सोही क्रममा अभिनेत्री ऋचा शर्माले उनलाई समर्थन गरिन् ।
अभिनेत्री पन्तको समर्थन गर्दै पोस्ट गरेपछि शर्मालाई पनि गालीगलौज गर्नेहरूसँग जुध्नुपर्यो । जवाफमा शर्माले ती गाली गर्ने एक प्रयोगकर्ताको अश्लील म्यासेजको स्क्रिनसट फेसबुकमा सार्वजनिक गरिन् ।
यसैगरी, मोडल तथा टिकटकर प्रिज्मा खतिवडाले पनि आफूलाई दुर्व्यवहार गर्ने प्रयोगकर्ताको कमेन्ट आफन्तलाई पठाएको भिडियो सेयर गर्दै विरोध जनाएकी थिइन् । उनले पनि दुर्व्यवहार सहेर चुप बस्नुको सट्टा प्रत्यक्ष जवाफ दिने बाटो रोजेकी थिइन् ।
यी घटनाहरूले संकेत गर्छन्, अब सेलेब्रेटीहरू केवल आक्षेप सहेर बस्न तयार छैनन् । उनीहरू सामाजिक सञ्जालमै ‘नाम र प्रमाण’सहित प्रतिकार गर्ने नयाँ प्रवृत्ति बढ्दै गएको छ । सेलेब्रेटीहरूले आफूविरुद्द प्रयोग भएका अभद्र शब्दहरूको प्रतिकार गर्दै सामाजिक सञ्जालमा त्यस्ता व्यक्तिलाई सार्वजनिक गर्ने ट्रेन्ड देखिन थालेको छ ।
यसको सकारात्मक पक्ष दुर्व्यवहारविरुद्धमा आवाज उठाउने साहस । तर, योसँगै डिजिटल मर्यादा र कानुनी चेतनाको आवश्यकता पनि बढेर गएको छ । यस्तो प्रवृत्तिले एकातर्फ दुर्व्यवहारको प्रतिरोध गर्ने सशक्त माध्यम दिएको छ भने अर्कातर्फ डिजिटल मर्यादा र साइबर एथिक्सको सवाल पनि उठाएको छ ।
प्रतिकारमा उत्रिँदा कतै आफैँ साइबर क्राइममा जाने अवस्था त बन्दैन भन्नेमा भने सचेत हुनुपर्नेछ । किन सेलिब्रेटीहरु सार्वजनिक रुपमा सामाजिक सञ्जालबाटै प्रतिकार गर्दैछन् भने कानुनी उपचारमा रहेको जटिलता र ढिलासुस्ती हो । त्यसैले राज्यले पीडितले नै पीडा महसुस गर्ने कानुनी जटिलतालाई सरल र सहज बनाउँदै चुस्त बाटोबाट न्यायसम्पादन गर्नुपर्ने देखिन्छ । होइन भने जस्तालाई तस्तै व्यवहार गर्ने नाममा समाज थप अराजक र असभ्य बन्दै जाने खतरा बढ्छ ।