त्रास र हास्यको समिश्रणमा चलचित्र ‘घोस्टेल’ बन्ने

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘घोस्टेल’को निर्माण घोषणा गरिएको छ ।

अनन्या फिल्मस्‌को ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण टिमले बुधबार थीम पोस्टर सार्वजनिक गर्दै ‘घोस्टेल’बारे जानकारी दिएको हो ।

पोस्टरमा उल्लेख गरिएको ‘ह्वेन हरर मिट हाहास्’ अर्थात् “जब त्रासले हाँसो भेट्छ” भन्ने ट्यागलाइनले यो चलचित्र हरर र कमेडीको संयोजन रहने संकेत गरेको छ ।

हाललाई ‘घोस्टेल’को कलाकार तथा प्राविधिक टोलीको बारेमा खुलासा गरिएको छैन । निर्माता सरोज न्यौपानेका अनुसार प्रमुख कलाकारहरूको घोषणा संगै क्रमशः फिल्मका अन्य विवरण सार्वजनिक गरिंदै जानेछ ।

चलचित्रको कथा लेखक तथा सह-निर्माता सुयोग गुरुङले तयार गरेका हुन् । यसअघि ‘जेरी अन टप’ निर्माणमा संलग्न रहेका न्यौपाने र गुरुङले उक्त सिनेमाको छायांकन सकिएलगत्तै ‘घोस्टेल’ निर्माणमा हात हालेका हुन् ।

‘घोस्टेल’को निर्देशन सुरज सुनुवारले गर्नेछन्, जसले यसअघि ‘षडङ्ग’ र गतवर्ष प्रदर्शनमा आएको ‘खजुरे ब्रो’ निर्देशन गरेका थिए । यो उनको तेस्रो निर्देशकीय सिनेमा हुनेछ ।

निर्माण टिमका अनुसार तिहारमा ‘जेरी अन टप’ प्रदर्शन भएपछि ‘घोस्टेल’को छायांकन सुरु हुनेछ । यो सिनेमालाई सन् २०२६ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।