प्रधानमन्त्री ओलीले एलिना र समीक्षालाई के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका एलिना चौहान र समीक्षा अधिकारीको तारिफ गर्दै गाली गर्नेहरूलाई सार्वजनिक गर्ने उनीहरूको कदम सही लागेको बताएका छन् ।
ओलीले एलिना र समीक्षालाई ‘साहसी छोरीहरू’को उपमा दिएका छन् ।
“आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्नेजस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो ।”
ओलीले समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको पनि बताएका छन् । “राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।”
पछिल्ला केही दिन यता एलिना र समीक्षाले आफूलाई फेसबुकमा गाली गर्नेहरूको फेसबुक प्रोफाइल सार्वजनिक गर्दै आउका छन् । उनीहरुको यो कामका धेरैले सराहना गर्दै आएका छन् ।