नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र ‘गुन्यो चोलो उर्फ गुलाबी’को प्रदर्शन मिति घोषणा

काठमाडौं । भर्सटाइल अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र ‘गुन्यो चोलो : कमिङ अफ एज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र यही कातिक ९ (अक्टोबर २५) बाट रिलिज हुने भएको छ ।
निर्माण टिमले बिहीबार नाजिरको लुक्ससहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा नाजिरको फरक लुक्स देख्न सकिन्छ । नाजिरको लुक्स र पोस्टरले चलचित्रको कथावस्तु बोल्छ ।
सिने क्षेत्रमा भर्सटाइल अभिनेताको छवि बनाएका नाजिरले यो चलचित्रमा पनि कडा मिहिनेत गरेको छनक पोस्टरले संकेत गरेको छ । नाजिरले ‘गुन्यो चोलो उर्फ गुलाबी’ कै लागि १६ केजी तौलसमेत घटाएका थिए ।
पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन् । उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन् भने अर्को हातमा हिल्स । उनको शरीरमा चोटको निशान समेत देखिन्छ । उक्त चोटले नाजिर पीडामा रहेको देखाउँछ । नाखमा नथिया, कानमा झुम्का र पूरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स (मेल टु फिमेल)’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ । पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ ।
चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । चलचित्रमा उनले गरेको मिहिनेत पनि कम छैन । नाजिरले यो चलचित्रको चरित्र निर्माणका लागि जति संघर्ष गरेका छन्, समुन्द्रले पनि चलचित्रलाई न्याय दिन उतिनै मिहिनेत गरेको बताएकी छन् ।
निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरू ‘निलहीरा समाज’ र ‘मितीनी नेपाल’सँग पनि परामर्श गरेकी थिइन् । धेरै खोज र अनुसन्धानपछि उनले चलचित्रमा ज्यान भरेकी हुन् । चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी छिन् । ‘गुन्यो चोलो उर्फ गुलाबी’ले आफ्नो निर्देशन करिअरमा थप उचाइ थप्नेमा भट्ट विश्वस्त छिन् ।
अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ ।
चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरसँगै चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।
चलचित्रको थिममात्र नभएर प्रोडक्सन पनि राम्रो रहेको निर्देशक भट्टको दाबी छ । चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम नेपाल बाहिर गरिएको हो । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन, ब्याकग्राउन्डस्कोर हलिउडस्तरमा बाहिरै गरिएको उनको भनाइ छ ।
चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन् । लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड चलचित्र ‘ग्ल्याडिएटर–२’ यहीँ डिसेम्बरमा आउँदैछ ।
नेपालको पहिलो पूर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको सहकार्यमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् । अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।
आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाइन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन छ । पुष्कर लामा प्रोडक्सन हेड र राम भण्डारी क्रिएटिभ हेड हुन् ।
