‘कबड्डी कबड्डी’को निर्मातामा अर्कैलाई बोलाएपछि रौनकको व्यंग्य– यो क्रिएटिभ अद्भूत जादु बोर्डको ल्याकतमा मात्रै छ

काठमाडौं । आफूले निर्माण गरेको चलचित्रमा निर्माताको नाम अर्कैको परेपछि निर्माता रौनक विक्रम कँडेलले असन्तुष्टि जनाएका छन् । चलचित्र ‘कबड्डी कबड्डी’मा अर्कैको नाम परेपछि उनले असन्तुष्टि जनाएका हुन् ।
चलचित्र विकास बोर्डले आफ्नो २५ औँ वार्षिक उत्सवको अवसरमा ५ करोडभन्दा माथि कलेक्सन गर्ने सिनेमाका निर्मातालाई आज सम्मान गर्ने कार्यक्रम थियो । सोही क्रममा ‘कबड्डी कबड्डी’को निर्मातामा रौनकको नाम नआएर अर्कैको नाम उद्घोषकले बताएपछि उनले बोर्डलाई कडा व्यंग्य गरेका छन् ।
“चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको समारोहमा कार्यक्रम, २०८२ मा आज उपस्थित भइयो । एकदमै ‘विशेष अनुभव’ रह्यो ! हाम्रो एउटा चलचित्र दिमाग खराबबाट सम्मानित भएँ, त्यसका लागि धन्यवाद त दिनैपर्छ,” रौनकले फेसबुकमा लेखेका छन्, “तर अर्को चलचित्र कबड्डी कबड्डी जुन सिनेमा आर्टले निर्माण गरेको हो । र त्यसको निर्माता चाहिँ म होइन रहेछु । आज थाहा पाएँ, स्टेजमा अरुकै नाम उच्चारण गरियो, निर्माण कम्पनी र निर्माता दुवैको ।”
उनले अगाडि लेखेका छन्, “२५ वर्षको इतिहासमा यस्तो सत्य विकृति देख्दा त म दङ्ग परेँ । यस्तो ‘क्रिएटिभ’ निर्णय तपाईंहरूको मात्र बसको कुरा हो । शुभकामना छ चलचित्र विकास बोर्ड तपाईंहरूको पारदर्शिता, इमानदारी र सृजनात्मकता साँच्चै २५ वर्षमा नयाँ उचाइमा पुगेको छ । नेपाली सिनेमाको जय होस्, अनि आजको कार्यक्रमको पर्दा पछाडि भएको अद्भूत जादुको पनि ! सम्मान पत्र मेरो, नाम अर्काको कति क्रिएटिभ होला ।”
उनी थप लेख्छन्, “अब अर्को पटक हाम्रो फिल्मलाई कसले बनाएको रहेछ । र, निर्माता को हो भनेर हामी तपाईंहरूकै प्रेस रिलिजबाट बुझ्नेछौं, ठीक छ ?”