५ करोडभन्दा माथि कमाउने २५ सिनेमामा बुद्धिका ११ चलचित्र

काठमाडौं । २५ वर्षका सबैभन्दा धेरै कमाउने २५ सिनेमामा कलाकार बुद्धि तामाङका ११ वटा चलचित्र परेका छन् । बुद्धिले काम गरेका ११ वटा सिनेमाले ५ करोडभन्दा माथि ग्रसकलेक्सन गरेका हुन् ।
‘कबड्डी’का चारवटा सिरिज र ‘छक्का पञ्जा’ एकदेखि चारसम्म चारवटा सिरिज गरेर ८ र ‘पूर्ण बहादुरको सारङ्गी’, ‘जारी’, र ‘अञ्जिला’ गरेर पाँच करोडभन्दा माथि कलेक्सन गर्ने ११ वटा चलचित्रमा उनले काम गरेका हुन् ।
उनले काम गरेका सिनेमामा सबैभन्दा पहिलो ५ करोड कमाउनेमा ‘कबड्डी’ हो । उनले लामो रोल गरेको सिनेमा पनि ‘कबड्डी’ नै पहिलो हो ।
यसअघि उनी आर्ट डिरेक्टरको रुपमा काम गर्थे । यसैक्रममा सानोतिनो रोलमा भने काम गर्दै आएका थिए ।
बुद्धिले हालसम्म एक सयभन्दा धेरै चलचित्रमा काम गरिसकेका छन् ।
चलचित्र विकास बोर्डले २५ वर्ष पुगेको अवसरमा सोमबार सबैभन्दा धेरै कमाउने २५ चलचित्रको नाम र कलेक्सन सार्वजनिक गर्दै निर्मातालाई सम्मान गरेको थियो ।