माओत्सेको ‘पेन्सनपट्टा’मा दयाहाङ फाइनल

काठमाडौं । कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्माण गर्न लागेको दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भएका छन् ।
यसअघि गुरुङ भाषाका केही चलचित्र निर्देशन गर्दे आएका माओत्से गुरुङले ‘दयारानी’बाट निर्देशनमा नेपाली चलचित्रमा डेव्यु गरेका थिए ।
वि.सं २०८० को माघमा प्रदर्शन भएको चलचित्र ‘दयारानी’ले बक्सअफिसमा राम्रै कलेक्सन गरेको थियो । ‘दयारानी’ मिलेको सफलता पछि अर्को हिम्मत गर्दै कलाकार गुरुङले ‘पेनसनपट्टा’ निर्देशन गर्न होमिएका हुन् ।
गुरुङ र राईले ‘पेन्सनपट्टा’मा दोस्रो सहकार्य गर्न लागेका हुन् । निर्देशक गुरुङले यो चलचित्रको घोषणा गत वर्ष नै गरेका थिए ।
यो चलचित्रको कथा, पटकथा माओत्से स्वयंको रहेको छ । जसमा भूतपूर्व लाहुरेको कथा भन्ने अनुमान गर्न सकिए पनि यो सिनेमाको केन्द्रबिन्दु लोभी युवक कसरी उदार बन्न पुग्छ भन्ने कथामाथि आधारित रहने निर्देशक गुरुङले जानकारी दिए ।
‘दयारानी’बाट प्राप्त अनुभवलाई थप परिष्कृत गर्दै दर्शकलाई अर्को उत्कृष्ट सिनेमा दिन सकिने विश्वास निर्देशक गुरुङले व्यक्त गरेका छन् ।
कार्तिकको तेस्रो सातादेखि फ्लोरमा जान लागेको चलचित्रमा अभिनेता राई बाहेक अन्य कलाकारको टुंगो लगाइएको छैन । बाँकी कलाकार चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने यस सिनेमाको सम्पूर्ण छायांकन पोखरा र वरपरका क्षेत्रहरूमा हुने जनाइएको छ । सिनेमाका छायाँकार सुशन प्रजापति हुन् भने कास्टिङ निर्देशकको जिम्मेवारी सुरज तमुले सम्हाल्नेछन् ।