निर्देशक प्रधान भन्छन्- ‘यो मन त मेरो नेपाली हो’ संसारभरका नेपालीको एउटा अभियान हो

काठमाडौं । भुटानी नेपाली मूलका निर्देशक नर प्रधान (मित्र) आफ्नो निर्देशनमा तयार भएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को रिलिजका लागि नेपाल फर्किएका छन् ।
राजनीतिक कारणले भुटान छाडेर नेपाल आएका प्रधान १७ वर्षअघि अमेरिका गएका थिए । साढे १० वर्षको उमेरमा नेपाल आएका उनी यहाँ १६–१७ वर्ष बसे । उनका बाल्यकालका अध्ययन, संस्कार र हुर्काइ सबै नेपाली समाजमै बितेको हो ।
अमेरिकामा लामो समय बसेपछि जन्मिएको सांस्कृतिक दूरीलाई मेटाउन उनले यो चलचित्र निर्माण गरेका हुन् । प्रधानले यो सिनेमालाई व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र नभई अभियानको रुपमा लिएको बताएका छन् ।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ असार २७ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । पाठ्यक्रम विकास केन्द्रले समेत यो सिनेमालाई विद्यालय तहका विद्यार्थीहरूलाई देखाउन उपयुक्त भन्दै सिफारिस गरिसकेको छ ।
निर्देशक प्रधान भन्छन्, ‘चलचित्र ‘यो मन त मेरो नेपाली हो’ नेपालीहरूका आस्था र पहिचानको प्रतिविम्ब हो । नेपाल मात्र होइन, नेपालबाट बर्मा, भारत, भुटान लगायत विभिन्न मुलुकमा पुगेका नेपालीहरूको कथा समेट्ने प्रयास गरिएको छ ।’
उनले भूमण्डलीकरणका कारण नेपाली भाषा, संस्कार र पहिचानबाट पछिल्लो पुस्ता टाढा हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । यही सन्दर्भमा उनले चलचित्रमार्फत आफूभित्रको नेपालीपनलाई पुनः जागृत गराउने प्रयास गरेको बताएका छन् ।
अमेरिकामा चलचित्र प्रदर्शन गर्दा त्यहाँका नेपाली मूलका हजुरबा–हजुरआमाहरूले आफ्ना नातिनातिनालाई नेपाली भाषा सिकाउन थालेको र नेपाली कक्षाहरू सुरु भएको अनुभव पनि उनले साझा गरे ।
‘हाम्रो संस्कृति, भाषा र पहिचान गुम्दै गएको अवस्थामा यो चलचित्रले आत्मपहिचानको बोध गराउने निर्देशक प्रधान बताउँछन् । ‘सुरुमा त आफूलाई माया गर्न सिकाउने उद्देश्यले बनाइएको यो फिल्म पछि विदेशीलाई समेत देखाउने सोच बनाएको छु,’ उनी भन्छन् ।
उनले ‘यो मन त मेरो नेपाली हो’ व्यावसायिक उद्देश्यले नबनाएको पनि स्पष्ट पारेका छन् । उनका अनुसार सन्देश दिनका लागि यो चलचित्र बनाइएको हो । ‘म चलचित्रको माध्यमबाट सन्देश दिन चाहन्थेँ, त्यसैले यो विषय रोजेँ । व्यावसायिक हिसाबले मात्र हेरेको भए यो चलचित्र बनाउँदिन थिएँ । विदेशमा भएपनि हाम्रो नेपाली मनले केही गर्नुपर्छ भन्ने सन्देश दिन यो चलचित्र बनाएको हुँ,’ उनले भने ।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले विदेशिएका नेपालीहरूको भावना, पहिचान र मुल देशसँगको सम्बन्धलाई पर्दामा उतार्ने कोसिस गरेको छ । निर्देशक प्रधानको यो प्रयास नेपाली समुदायलाई सांस्कृतिक पुनर्जागरणतर्फ डोर्याउने अपेक्षा गरिएको छ ।
‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।
चलचित्रमा सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।
यो चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ ।