‘घरज्वाइँ’को सुखद् सुरुवात, देशभर ८० प्रतिशतसम्म अकुपेन्सी

शुक्रवारबाट प्रदर्शनमा आएको अनिल बुढा मगरको डेव्यु निर्देशित फिल्म ‘घरज्वाइँ’ले घरेलू बक्सअफिसमा सुखद् सुरुवात गरेको छ ।
सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मले प्रदर्शन सुरु गरेसँगै शुक्रबार दिउँसोका शोमा फिल्म हेर्ने दर्शकको उपस्थिति सुखद् थियो । साथै, फिल्मले दर्शकबाट उत्कृष्ट वर्डअफ माथउ पाएकाले शनिबारको व्यापार बम्पर हुने अपेक्षा निर्माण टिमलाई रहेको छ ।
मगर समुदायको कथा उठान गरेको फिल्मको बिहानी शोमा वर्षाले असर गरेपनि दिउँसोका शोमा देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले बताए ।
फिल्मका वितरक कट्टेलले विभिन्न हलमा हाउसफुल भएका स्क्रिन सर्ट सामाजिक सञ्जाल फेसबुकमा राख्दै दर्शकको राम्रो साथ मिलेको भन्दै खुशी व्यक्त गर्नुका साथै दर्शकलाई धन्यवाद समेत दिएका छन् । शुक्रबार काठमाडौं उपत्यका र मोफसलमा पूर्वी नेपाल अनि पश्चिम नेपालमा बिशेषगरी दाङ, बुटवल, नेपालगञ्ज लगायतका ठाउँमा दर्शकको राम्रो साथ मिलेसँगै केही हलले सिनेमाको शोमा बढोत्तरी समेत गरेका छन् ।
निर्माता जनक घर्ती मगरले शुक्रबारका बिहानी शोमा पानीले केही असर गरेपछि दिवा शोबाट हलमा दर्शकको चाप रहेको बताए । हामीले विभिन्न हलमा अनलाई टिकेटिङ्ग साइट खोलेर हेर्दा अधिकांश शोमा दर्शकको चाप देखिन्थ्यो । जसले गर्दा दयाहाङ र मिरुनाको जोडीलाई दर्शकले रुचाएको प्रमाणीत हुन्छ ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
जनक घर्ती मगर निर्माता रहेको यो फिल्ममा सुसन प्रजापतिको छायांकन, विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको संगीत, र कृष्ण भन्डारीको सम्पादन रहेको छ।
नेपाल र विदेशमा एकसाथ रिलिज हुने फिल्मलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ ।