‘प्रतिवैरम’को आइटम गीतमा प्रियंकाको नृत्य

काठमाडाैं । चलचित्र ‘प्रतिवैरम’को आइटम गीतमा अभिनेत्री प्रियंका कार्कीले नृत्य गरेकी छन् ।
निर्देशक रोशन दासको निर्देशनमा निर्माण भइरहेको चलचित्रको यस गीतलाई बालाजुस्थित चलचित्र विकास कम्पनीमा भव्य सेट बनाएर दुई दिनसम्म खिचिएको हो ।
‘हट भाकी छु’ बोलको आइटम गीतमा अभिनेत्री कार्कीले नृत्य गरेकी हुन् । यस गीतको कोरियोग्राफी सुरेन बसेलले गरेका छन् ।
मधेसको कथामा आधारित यस चलचित्रको गीत चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिनसम्म खिचिएको हो । बिहीबार र शुक्रवार खिचिएको उक्त गीतको छायांकन सम्पन्न समेत गरिएको छ ।
यो चलचित्र मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुसँगै दाजु-बहिनीको भावनात्मक कथामा आधारित रहेको निर्देशक दासको भनाइ छ ।
“मधेसबारे बन्ने धेरै फिल्महरूमा न त वास्तविक सौन्दर्य देखिन्छ, न त गहिरो समस्या । ‘प्रतिवैरम’ मार्फत त्यो अभाव हटाउने प्रयास गरेका छौँ,” निर्देशक दास भन्छन् ।
चलचित्र रेज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रलाई किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण गरिँदै छ।
चलचित्रको कथा स्वयं निर्देशक दासले लेखेका हुन् भने पटकथा युवराज भट्टराईको रहेको छ ।
चलचित्र ‘प्रतिवैरम’मा सम्राट दास, प्रियंका कार्की, रमेश बुढाथोकी, नवीन श्रेष्ठ, आलिशा बास्तोला, वीरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोशन, नारायण बिक, रोनी यादव, कमल सुनार, गीता श्री, अग्नि सुवेदी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
‘हट भाकी छु’ आइटम गीतमा संगीत मनिष अधिकारी, शब्द रोशन दास, र स्वर रीतिका श्रेष्ठको रहेको छ भने छायांकन नितेश घतानले गरेका छन् ।
चलचित्रको आधा भन्दा बढी छायांकन सम्पन्न भइसकेको छ र बाँकी छायांकन बर्खा सकिएपछि गरिने निर्देशक दासले बताए ।