अदालतमा विचाराधीन रविको मुद्दामा हस्ताक्षर गर्ने कलाकार कति बुद्दिमानी ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले भैरहवा कारागारको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा उनी लामो समयदेखि हिरासतमा छन् ।

उनी पक्राउ परेदेखि नै पक्ष/विपक्षमा बहस भइरहेको छ । नागरिक तहमा उनको पक्राउलाई लिएर सुरुदेखि नै बहस भइरहेको छ । कोही उनको पक्षमा छन् भने कोही विपक्षमा । केहीले उनी निर्दोष रहेको भन्दै पुराना राजनीतिक दलका र तीनका शिर्ष नेताले फसाएको आरोप लगाएका छन् । केहीले उनी साँच्चै दोषी नै रहेको दाबी गरिरहेका छन् ।

यही मेसोमा तीन हप्ताअगाडि रविको सचिवालयले रविको अपिल भन्दै लामो धारणा सार्वजनिक गर्‍यो । जहाँ पुराना राजनीतिक दललाई चर्को गाली गरिएको थियो । आफू निर्दोष भएको बताइएको थियो ।

रविको पार्टीले अहिले रविका पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । यो अभियानमा सकेसम्म समाजका सबै पक्षलाई समेट्ने प्रयास गरिएको छ ।

यो अभियानमा कलाकारहरू लाइन लागेर रास्वपाको पार्टी कार्यालयमा पुगेर हस्ताक्षर गरिरहेका छन् । अशोक शर्मा, विपीन कार्की, रमेश उप्रेती, खगेन्द्र लामिछाने, दीपेन्द्र के खनाल, किरण केसी, राजाराम पौडेललगायत थुप्रै कलाकारले अभियानमा सहभागी हुँदै हस्ताक्षर गरेका छन् ।

अदालतमा मुद्दा विचाराधीन छ । अनुसन्धानको प्रक्रिया जारी छ । अनुसन्धान सकिएपछि अदालतले दोषी भए रविलाई कानुन बमोजिम फैसला सुनाउँछ । दोषी नदेखिए समम्मान रिहाइ गर्छ ।

पहिलो कुरा त अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्नेगरी कुनै पनि काम गर्नु हुन्न । कसैले आरोपीको मुद्दामा प्रभाव पार्नेगरी पक्ष वा विपक्षमा वकालत गर्छ भने त्यो आफैँमा गैरकानुनी कार्य हो । अदालत वा न्याय सम्पादनमा रहेका न्यायाधीशलाई प्रभाव पार्ने कुनै पनि कार्यमा सम्लग्न हुुनुहुँदैन । यो कानुनले नै बर्जित गरेको छ ।

तर, विधाराधीन मुद्दालाई प्रभावित गर्नेगरी हस्ताक्षर अभियान रास्वपाले चलाइरहेको छ । यो आफैँमा गलत कार्य हो । अनि यो गलत कार्यको कलाकार साक्षी बनिरहेका छन् ।

कलाकार आफैँमा कुनै विचार, पार्टी वा धर्मको हुनुहुँदैन भन्ने मान्यता छ । कुनै विचार वा आस्था हुनु गलत होइन तर त्यसको पक्ष वा विपक्षमा वकालत गर्ने कि नगर्ने त्यो विचारणीय पक्ष हो । कुनै दल वा व्यक्तिको पक्षमा बोल्न कलाकारले पाउँदैन भन्ने होइन । तर, यसले ऊ नैतिकतवान छ/छैन भन्ने देखाउँछ ।

सहकारीको ठूलो रकम अपचलन गरेको आरोप लागेको व्यक्तिको पक्षमा वकालत गर्न मिल्छ ? यसै पनि अदालतमा मुद्दा रहेको अवस्थामा यो विषयमा मौन बस्नु पर्छ कि रवि निर्दोष हुन् भन्दै हस्ताक्षर गर्दै हिड्नुपर्छ ? दोषी हो कि होइन भनेर फैसला गर्ने काम अदालतको को कि कलाकारको ? कलाकारले न्याय अन्याय छुट्टयाउँदै दण्डसजाय गर्ने हो र ?

अदालतको काम नै दोषीलाई कारबाही र निर्दोषलाई उनमुक्ति दिने हो । कलाकारको काम न्यायसम्पादन गर्ने होइन । हरेक पेसा र व्यवसायको आआफ्नै काम हुन्छ । हरेकले एकले अर्काको कामको सम्मान र भरोसा गर्नुपर्छ । होइन भने समाजमा अराजकताले पराकाष्ट नाग्छ । सुशासन कायम हुन सक्दैन ।

पार्टी कार्यालयबाटै को दोषी र को निर्दोष हो भनेर छुट्टयाउने हो भने अदालत नै चाहिने थिएन । न्याय सम्पादनका लागि न्यायलय नै चाहिने थिएन ।

अनि समाजले आदर्श मान्ने कलाकार न्यायको कठघरामा रहेको व्यक्ति निदोर्ष हो भन्दै हिँड्न मिल्छ ? के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने न्यूनतम ज्ञान र नैतिकता देखाउनु पर्दैन ।

नेपालमा कलाकारको सम्मान भएन, राज्यले नजरअन्दाज गर्‍यो, अरु क्षेत्र वा पेसा व्यवसायलाई जस्तो इज्जत गरेन भन्दै गुनासो गर्ने कलाकारले आफू चाहिँ के गरिरहेको छु भनेर सोच्नु नपर्ने हो ? जे गर्न हुँदैन, त्यही गर्ने । कानुनले बर्जित गरेको काम गर्ने अनि राज्यले हामीलाई हेरेन भन्दै गुनासो गर्न मिल्दैन ।

वास्तवमा यस्तै घटनाक्रमले हो को कति बुद्दिमान र नैतिकवान छ भनेर छुट्टयाउने । को कति समझदारपूर्ण काम गर्छ भनेर प्रमाणित गर्ने । रवि निर्दोष छन् भन्ने भरोसा छ भने केही दिन पर्खने धैर्यता राखे अदालतले उनको पक्षमा फैसला सुनाइहाल्छ । अनुसन्धानले दोषी ठहर्‍याए कारबाहीको भागिदार हुनै पर्छ, कलाकारको हस्ताक्षरले केही हुँदैन । किनकी न्यायमूर्तिहरूलाई पनि कानुनले बाँध्छ । उनीहरूले झ्यालबाट बाहिर हेरेर भिड कत्रो छ भनेर फैसला सुनाउने होइन दसी प्रमाण हेर्ने हो । कम्तीमा यति चाहिँ सबैको समझमा हुनुपर्छ । होइन भिड हेरेर न्यायालयले फैसला सुनाउनुपर्छ र सुनाउँछ भन्ने पक्षमा कलाकार हो भने त्यो कति बुद्धिमानी हो, यहाँ उल्लेख गरिहरनै पर्दैन ।

सेलिब्रेटी भएपछि सेलिब्रेटीको जस्तै व्यवहार देखाउनुपर्छ । राज्य प्रणालीलाई नमान्ने व्यक्ति कदापि सही र समझदार हुँदैन । कानुनको नजरमा दोषी हुन्छ । त्यसैले कानुनको पालना गर्नुपर्छ । न्यायप्रणालीप्रति भरोसा गर्नुपर्छ । सुझ न बुझ कसैको पछि लाग्न हुँदैन । यसले सेलिब्रिटीलाई शोभा दिँदैन । उल्टो मुर्ख प्रमाणित गर्छ ।

रास्वपाका लागि त यो जीवन र मरणको सवाल होला । रवि दोषी करार भए पार्टी नै नरहला र पार्टी नै नरहे आफ्नो राजनीति नै नरहला भन्ने चिन्ता होला । त्यसैले जानाजान अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजिरहेका छन् ।

तर, कलाकार चाहिँ किन कोही व्यक्तिका लागि सति जाने ? रहर छ भने रोक्न कसैले सक्तैन । स्वेच्छा हो, जाँदा पनि भयो । तर, बेलैमा सही निर्णय लिनु र पछि पछुताउनुमा आकास पातालको फरक छ ।

व्यक्तिगत रुपमा कोही नजिक छ भन्दैमा उसका पक्षमा आँखा चिम्मेर लाग्न मिल्छ ? दोषी छ भने आफ्नो होस् वा अर्काको कारबाहीको भागिदार हुनै पर्छ । दोषी छैन भने यसै पनि अदालतले सफाइ दिहाल्छ रोइकराइ गर्नै पर्दैन ।