फागुन १- ‘फिल्म महोत्सव’ बन्दै, चार सिनेमा भिड्ने निश्चित

काठमाडौं । आगामी फागुन १ गतेका लागि चर्को प्रतिस्पर्धा देखिन थालेको छ । नेपाली चलचित्रबीच फागुन १ गते ठुलो भिडन्त हुने देखिएसँगै बक्सअफिस बारे सामाजिक सञ्जालमा खैलाबैला अहिलेबाट नै सुरु भइसकेको छ ।

यो मितिमा एकपछि अर्को गर्दै चलचित्रहरूले रिलिज मिति तय गर्न थालेपछि मेकर र दर्शक दुबैको ध्यान अहिले यही मितिमा केन्द्रित भएको छ । हालसम्म यो मितिमा चारवटा सिनेमा एकैपटक रिलिज हुने घोषणा भइसकेका छन् ।

यो मितिमा चारवटा नेपाली सिनेमाले प्रदर्शन मिति तय गर्दा अन्य केही मेकरहरू पनि सोही दिन चलचित्र रिलिज गर्ने तयारीमा जुटिरहेका छन् ।

यसअघि यो मितिमा लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार हुँदै गरेको चलचित्र ‘कल्ली’ र निर्माता तथा निर्देशक अशोक शर्माको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘डबल ट्रिपल’ ले फागुन १ गते प्रदर्शन हुने घोषणा गरिसकेका थिए ।

यसअघि दशैंको फूलपातीमा रिलिज हुने भनिएको ‘डबल ट्रिपल’ दसैंमा धेरै सिनेमाहरु आउने भएर फागुन १ गते प्रदर्शनमा आउने भएको हो ।

यी दुई चलचित्रको घोषणा पछाडि निर्माता तथा निर्देशकहरूबीच मितिको चासो बढिरहेको थियो । केही दिन अघि पोस्टर सार्वजनिक गर्दै षट्कोण आर्टसको निर्माण र यम थापाको निर्देशन रहने नयाँ चलचित्र ‘लालीबजार’ ले पनि फागुन १ मै रिलिज हुने घोषणा गर्‍यो । उक्त घोषणासँगै बजारमा फागुन १ गतेको भिडन्तको सरगर्मी बढ्यो ।

सोमवार कृषा चौलागाईंले निर्देशन गर्न लागेको सिनेमा ‘जहाजैमा’ ले पनि फागुन १ कै मिति पक्का गरेको जानकारी सार्वजनिक गर्‍यो । योसँगै चार वटा चलचित्र एउटै मितिमा भिड्ने निश्चित भएको छ ।

फागुन महिना यसपालि केही सार्वजनिक बिदा पर्ने भएकाले चलचित्र रिलिजका लागि ‘सुनौलो अवसर’ मानिएको छ । यही कारण धेरै मेकरहरूको ध्यान फागुन १ तिर मोडिएको बुझिन्छ ।

चलचित्रसँग सम्बन्धित संघ लगायतका निकायले एकै मितिमा धेरै सिनेमा नजुधाउन आग्रह गर्दै आए पनि हालसम्म निर्माता निर्देशकहरू आपसमा समन्वयमा देखिएका छैनन् ।

यस्तो भिडन्तको अवस्था दर्शकका लागि विविध विकल्पको रूपमा त देखिए पनि व्यवसायिक हिसाबले भने केही चलचित्रलाई घाटा हुने जोखिम पनि छ । अब हेर्न बाँकी छ, निर्माता–निर्देशकहरूले आपसी समझदारीमा मिति सर्न सहमत हुन्छन् कि, भिडन्तकै तयारीका साथ अघि बढ्छन् भन्ने हो ।

फागुन १ को मितिमा यति धेरै फिल्मको भिडन्त हुनु नेपाली फिल्म उद्योगको एकातिर चहलपहलको संकेत हो भने अर्कोतिर बजार व्यवस्थापनको चुनौती पनि हो । हालसम्म हेर्दा दर्शकका लागि भने यो मिति ‘फिल्म महोत्सव’ नै बन्ने देखिएको छ ।

अब कुन सिनेमाले दर्शकको मन जित्ला र कुन चलचित्रले व्यापारिक रूपमा सफलता हात पार्ला भन्ने कौतुहलता सिने वृत्तमा बढ्दो छ ।