चलचित्रको रचनात्मक पब्लिसिटीमा लाग, पुरानै घिसिपिटी शैलीले काम गर्दैन

असार र साउन सकिएपछि नेपाली चलचित्र उद्योगमा सिनेमा प्रदर्शनको बाढी आउने भएको छ । लगातार हप्ताकै दुई/तीनवटा सिनेमा रिलिज हुन थाल्नेछन् ।

दशैँ, तिहार, तिज, नयाँ वर्ष मात्रै होइन अन्य सामान्य शुक्रबार पनि निर्मातालाई आफ्नो चलचित्र शोलो रिलिजको अवसर पाउने सम्भावना लगबग छैन । किनकी निर्माण भएका सिनेमाको संख्या नै उच्च छ । दिनकै सिनेमा निर्माणको घोषणा, पोस्टर र टिजर रिलिजका खबर, सुटिङ गएका र सकिएका समाचारले पनि यसलाई पुष्टि गर्छ । गत वर्ष चलचित्र विकास बोर्डमा निर्माणका लागि इजाजत लिएका दुई सयभन्दा धेरै सिनेमाको संख्याले पनि यही देखाउँछ ।

सिनेमा निर्माणको घोषणा हेर्दा यस्तो लाग्छ, चलचित्र बनाउन म्युजिक भिडियो बनाउनभन्दा पनि सजिलो र सस्तो छ । आज सुरु गरेर भोलि सकिन्छ । पर्सि रिलिज गरेर अर्को दिन करोड/करोड नाफा कमाइन्छ ।

तर, सत्य त्यस्तो होइन । न चलचित्र बनाउन सस्तो र सजिलो छ न लगानी गर्दैमा त्यसको रिटर्न्स सुनिश्चित छ । चलचित्र त्यति सजिलै चल्दैनन् । सबै चलचित्र चल्दैन । हरेक शुक्रबार हलमा ल्याउँदैमा चलचित्रको व्यापार राम्रो भइहाल्ने होइन ।

चलचित्र राम्रो हुनुपर्छ । चलचित्र राम्रो भएको कुरा दर्शकसामु पुग्नुपर्छ । दर्शकलाई यो सिनेमा यो दिनबाट लाग्दैछ भन्ने थाहा हुनुपर्छ । यति भएन भने चलचित्र चल्दैन ।

निष्कर्ष के हो भने हरेक हप्ता सिनेमाको भीड लाग्दा कुन सिनेमा कुन दिन आउँदैछ भनेर दर्शकलाई कण्ठ हुने गरी जानकारी दिन सहज छैन । यसका लागि अब सामान्य पब्लिसिटीले पुग्दैन । गज्जबको पब्लिसिटी चाहिन्छ ।

लरतरो पब्लिसिटी र झारा टार्ने पब्लिसिटीले अब दर्शकमा सिनेमा नोटिस गराउन सकिँदैन । एकातिर सिनेमाको भीड अर्कोतिर र पर्याप्त विकल्प त्यसैले अब ट्रेडिसनल प्रचारले काम गर्दैन ।

उही यो सिनेमा किन हेर्ने र अरुभन्दा के फरक छ भन्ने कलाकारका घिसिपिटी अन्तर्वार्ता, पोस्टर, टिजर र ट्रेलर तथा तिनका चार लाइने समाचारले अब पब्लिसिटीको काम गर्दैन ।

पब्लिसिटीका लागि नयाँनयाँ तरिकाको टड्कारो खाँचो देखिसकेको छ । कलाकार र निर्देशकले आफ्नै सिनेमाको गर्ने तारिफ पत्याएर दर्शक लुरुलुरु तिनका चलचित्र हेर्न हलमा जाँदैनन् । त्यसैले अब पब्लिसिटी सिनेमा जस्तै बलियो चाहिन्छ । फरक चाहिन्छ । केही न केही फरक तरिका अवलम्बन गर्नैपर्छ । अन्यथा सिनेमा आए/गएको पत्तै हुने छैन ।

कलाकारमात्रै होइन निर्देशक नै अर्को सिनेमा व्यस्त हुने अनि रिलिजको एक साता अगाडि असिन र पसिन गर्दै युट्युब र मिडियाका कार्यालयमा दौडिएर एउटै कुरा सुरुदेखि अन्तिमसम्म अन्तर्वार्तामा फलाकेर पब्लिसिटी हुँदैन भन्ने कम्तीमा बुझ्नुपर्छ ।

अन्यथा सिनेमाको भीडमा कुन कहिले आयो र गयो दर्शकले पत्तै पाउने छैनन् । निर्माताको करोडौं लगानी बालुवामा पानी हुनेछ । सिनेमाबाट पैसा कमाउने निर्माताको रहर बालुवाको घरजस्तै हुनेछ ।

त्यसैले अब चलचित्रको प्रचारमा पुरानै घिसिपिटी शैलीमा नअल्झ, नयाँनयाँ रचनात्मक तरिका भित्र्याउँदै उपयोगी र प्रभावकारी प्रचारमा लाग ।