अष्ट्रेलियाका २५ हलमा सयभन्दा बढी सोजका साथ रिलिज हुँदै ‘माग्ने राजा’

काठमाडाैं । भदौ ६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र अष्ट्रेलियाका विभिन्न सहरका २५ हलमा लाग्ने भएको छ । अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले चलचित्र सय सोजका साथ रिलिज हुन लागेको जानकारी गराएका हुन् ।

हलमा प्रदर्शन हुने भएसँगै चलचित्रको बुकिङसमेत खुला गरिएको छ । चलचित्रको बुकिङ सुरुवाती चरणमा रहेको र प्राप्त सोजको आधारमा हेर्दा चलचित्रले राम्रो व्यापार गर्ने अनुमान रहेको थ्रिकेजीका गोविन्द भण्डारीले बताएका छन् ।

दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले चलचित्रको हाइप र सम्भावनालाई मध्येनजर गरेर पर्याप्त सोसहित रिलिज गर्न लागेको चलचित्र रिलिज हुन लागेको बताइन् । उनका अनुसार अष्ट्रेलियामा लामो समयपछि नेपाली चलचित्र हलमै रिलिज हुन लागेको हो ।

चलचित्रमा माग्ने बुढा अर्थात् केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, शारदा गिरी आदि कलाकारको अभिनय रहेको छ । मुनाल घिमिरेले निर्माण गरेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् । मित्र गुरुङको सम्पापन, नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको चलचित्रमा सामीप्य तिमल्सेनाको लेखन रहेको छ ।