‘गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि ‘रिमै’ बलियो दस्तावेज’

काठमाडाैं । अभिनेता दयाहाङ राईले ‘रिमै’ नेपाली सिनेमा उद्योगका लागि एउटा दस्तावेज हुने बताएका छन् । गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि यो सिनेमा बलियो दस्तावेज हुने उनको भनाइ छ ।

“अहिले त यो सिनेमा बन्यो । अब प्रदर्शन हुन्छ । धेरैका लागि यो सामान्य प्रक्रिया हो” उनी भन्छन्, “तर, यो सिनेमा भोलिका लागि एउटा बलियो दस्तावेज हुनेछ । भोलिको पुस्ताले गुरुङ सुमदायको अध्ययन गर्नुप¥यो भने यो एउटा बलियो दस्तावेज हुनेछ ।”

‘रिमै’को अर्थ छोरी–चेली भन्ने हो । तर, यसलाई अलि रुखो तरिकाले बुझ्दा तरुनी भन्ने पनि हो । त्यसैले गुरुङ समुदायमा कसैले केटीलाई जिस्काएर ‘रिमै’ भन्यो भने त्यो छोरी वा चेली नभएर तरुनी भन्ने हो ।

यो सिनेमा की ‘रिमै’ अर्थात् अभिनेत्री रिश्मा गुरुङ आफ्नो समुदायमा छोरी सबैभन्दा केन्द्रमा हुने बताउँछिन् । ‘अरु समुदायमा बाबु वा आमाको मृत्यु हुँदा अन्तिम संस्कार गर्न छोरा चाहिन्छ, छोरी नभए पनि हुन्छ,’ रिश्मा भन्छिन्, ‘तर, हाम्रो गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ तर छोरी अनिवार्य चाहिन्छ । छोरी नभएसम्म घरबाट लास उठाउनै मिल्दैन ।

त्यसैले गुरुङ जातिमा छोराभन्दा छोरीको महत्व कति धेरै छ, त्यो ‘रिमै’मा देख्न सकिने उनले बताइन् । गुरुङ समुदायको कथामा बनेको बलियो सिनेमा भएकैले आफूले यसमा काम गरेको रिश्माले बताइन् ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिस्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरबल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् । चलचित्र आगामी शुक्रबार अर्थात भदौ २० गतेबाट प्रदर्शनमा आउँदै छ ।